काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने बताएका छन् ।
सामाजिक संजालमार्फत अध्यक्ष घिसिङले त्रिशूली नदी बेसिनको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि गुरुयोजना तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भनेका छन्, ‘बाढीले त्रिशूली नदी बेसिनको भूगोल र प्राकृतिक स्वरूप नै बदलिदिएको छ। जलविद्युत आयोजना, सडक, पुल, प्रसारणलगायतका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने सयौँ परिवार घरबारविहीन भएका छन्। यो क्षति तत्कालीन राहत र पुनर्निर्माणले मात्र सम्बोधन हुने अवस्था होइन। अब संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै त्रिशूली नदी बेसिनको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासको गुरुयोजना तत्काल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। सुरक्षित एकीकृत बस्ती, सडक तथा पुल, ऊर्जा पूर्वाधार, नदी नियन्त्रण र तटीय संरक्षणलाई प्राथमिकतामा राखिनुपर्छ।’
अध्यक्ष घिसिङले सुरक्षित एकीकृत बस्ती निर्माण, सडक तथा पुल पुनर्निर्माण, ऊर्जा पूर्वाधार, नदी नियन्त्रण र तटीय संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भनेका छन्, ‘विपद्ले भत्काएको त्रिशूलीलाई अझ सुरक्षित, व्यवस्थित र दिगो त्रिशूलीका रूपमा पुनर्निर्माण गर्ने संकल्प अब आवश्यक छ ।’
पुनर्निर्माण तथा पुनस्र्थापनाको अभियानमा आफ्नो विज्ञता, अनुभव र क्षमताले भ्याएसम्म साथ, सहयोग र योगदान गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि घिसिङले बताएका छन्।
