काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यतासमेत त्याग्दै पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
पाठकले आइतबार विज्ञप्ति जारी गरी आजैदेखि लागू हुने गरी राप्रपाबाट पूर्णरूपमा अलग हुने निर्णय गरेको बताएका छन् ।
करिब चार वर्षअघि राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका नागरिकले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिसहित आफू पार्टीमा आबद्ध भएको उनले बताएका छन्।
तर उक्त सहमतिअनुसार पार्टीमा ठोस र परिणाममुखी काम हुन नसकेको पाठकको निष्कर्ष छ। पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध कडा नारा दिने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन्।
पार्टीको केन्द्रीय नेतृत्व तहमा पुरानै आन्तरिक बेमेल र गुटगत स्वार्थको संघर्ष बढ्दै गएको भन्दै पाठकले यस्तो अवस्थाका कारण नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न कठिन भएको बताएका छन्।
आफू लगायत नयाँ रूपमा पार्टीमा जोडिएका नेताहरूले समेत विद्यमान अवस्थामा परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखेको उनले उल्लेख गरेका छन्। यसमा आफ्ना कमजोरीसमेत हुन सक्ने उनले स्वीकार गरेका छन्।
यद्यपि राप्रपाका तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय तथा प्रेरणादायी रहेको पाठकले बताएका छन्। उनीहरूप्रति आफू सधैँ सम्मानित रहने उनको भनाइ छ।
पार्टीमा रहँदा सहयोग, शुभेच्छा, सद्भाव र आलोचनात्मक सुझाव दिने सबै नेता, सदस्य तथा शुभचिन्तकप्रति उनले आभार व्यक्त गरेका छन्।
