राष्ट्रसंघको महासभामा जाँदा तथ्य प्रमाण प्रस्तुत गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन साहलाई संयुक्त राष्ट्रसंघको महासभामा जाँदा तयारीका साथ प्रस्तुत हुन सुझाव दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले महासभामा जलवायु परिवर्तनबारे बोल्दा तथ्य प्रमाण प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।

उनले सचिवालयका सदस्यको मात्र भर नपरी विज्ञ, अनुसन्धानकर्तालगाय यस क्षेत्रमा काम गरेका संघसंस्थासँग समन्वय गर्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, तपाईँ सचिवालयका सदस्यको मात्र भर नपर्नु । यहाँ थुप्रै संस्था छन् यस विषयमा काम गरेका । त्यस्तै विज्ञ, अनुसन्धानकर्ता पनि छन् । त्यस्तै अमेरिकामै बसेर यसबारेमा अध्ययन गरेका व्यक्ति पनि छन्, जसले राष्ट्रसंघलाई प्रभाव पार्न सक्छन् । उनीहरुसँग पनि छलफल गर्नु । उनीहरु प्रधानमन्त्रीको एक फोनमा रातारात आउँछन् ।’

सभापति थापाले तयारीकासाथ प्रस्तुत भए प्रधानमन्त्रीको भ्रमण फलदायी हुने बताए । उनले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूको पनि गहिरो अध्ययन गर्न सुझाव दिए । सभापति थापाले हिमाली क्षेत्रको जोखिमलाई अब राष्ट्रिय सुरक्षासँग पनि जोड्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *