काठमाडौँ । मदन पुरस्कार गुठीले वि.सं. २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको गुठीको साधारण सभाले २०८२ सालमा प्रकाशित पुस्तकहरूमध्ये जोशीको कृतिलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत मुकुन्डोनाचको सङ्कलन तथा अभिलेखीकरणमा योगदान पुर्याएको भन्दै उक्त पुस्तक छनोट गरिएको गुठीले जनाएको छ ।
यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए । तीमध्ये १० पुस्तक मदन पुरस्कारको श्रेष्ठ सूचीमा छनोट भएका थिए ।
श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी राजभण्डारीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ परेका थिए ।
यसैगरी, गुठीले छ दशकदेखि गीत लेखनमा सक्रिय किरण खरेललाई वि.सं. २०८२ को जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
