चीनद्वारा बाढी प्रभावित क्षेत्रमा जडान गर्न दुई बेलीब्रिज नेपाललाई हस्तान्तरण

काठमाडौँ । चीनको तिब्बत स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न १०० मिटर लम्बाइका दुईवटा बेलीब्रिजका सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा शुक्रबार आयोजित हस्तान्तरण कार्यक्रममा ल्हासाका लागि नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको तिब्बत स्वायत्त क्षेत्रको परराष्ट्र कार्यालयका उपमहानिर्देशक औयाङ च्रीपिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी प्रमाणपत्र आदानप्रदान गरेका हुन् ।

नेपालको महावाणिज्यदूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार पुनःस्थापनाका लागि चीनसँग ३० वटा बेली ब्रिज उपलब्ध गराउन अनुरोध गरेको थियो ।

चीनबाट हस्तान्तरण गरिएका ब्रिजका सामग्री आजै माथिल्लो मुस्ताङस्थित कोरला (लीच) सीमा नाकामा आइपुगेका छन् । नेपाली पक्षले ती सामग्री आजै बुझ्ने जनाइएको छ ।

ब्रिज जडानलाई प्रभावकारी र सहज बनाउन चीनले प्राविधिक जनशक्तिसमेत उपलब्ध गराएको छ । चिनियाँ प्राविधिक टोली छिट्टै नेपाल आउने बताइएको छ ।

बेलीब्रिजका लागि बेली प्यानल, स्टिफेनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङलगायतका सामग्री उपलब्ध गराइएको छ ।

कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूतावास र चीनको तिब्बत स्वायत्त क्षेत्रको परराष्ट्र कार्यालयका अधिकारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *