चिनियाँ जनताको स्वेच्छिक सहयोगबाट जुटाइएको राहत सामग्री काठमाडाैँमा

काठमाडौं । नेपालका बाढी तथा पहिरो प्रभावितका लागि मनकारी चिनियाँहरूको स्वेच्छिक सहयोगबाट जुटाइएको राहत सामग्रीमध्ये पहिलाे चरणमा ६ हजारवटा मेडिकल बडी ब्यागसहित करिब २७ टन सामग्री बिहीबार काठमाडौं आइपुगेको छ ।

चाइना सदर्न एयरलाइन्सको पूर्ण सहयोगमा ती राहत सामग्री काठमाडौं ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ उद्यम तथा सहयोगी व्यक्तिहरूको सहयोगबाट प्राप्त उक्त राहत सामग्रीको कुल मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको दूतावासले जनाएको छ ।

चिनियाँ उद्यम तथा सहयोगी व्यक्तिहरूको स्वेच्छिक सहयोगबाट जुटाइएको राहत सामग्रीमा १७५ थान पाल, १ हजार थान कम्बल, १ हजार थान कपासका ज्याकेट, १ हजार थान आपत्कालीन मानवीय राहत बक्स तथा ६ हजार मेडिकल बडी ब्याग रहेका छन् ।

चिनियाँ दूतावासका अनुसार यी सामग्रीहरू नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार रसुवा विपद् प्रभावित क्षेत्रमा पठाइनेछ ।

राहत सामग्रीले विपद् प्रभावित स्थानीय बासिन्दाका लागि आधारभूत खाना, कपडा, आवास तथा आवागमनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, स्थानीय उद्धार तथा आपत्कालीन प्रतिकार्यमा संलग्न टोलीलाई पनि सहयोग पुग्ने दूतावासले जनाएको छ ।

विशेषगरी ६ हजार मेडिकल बडी ब्यागले विपद्मा ज्यान गुमाएका व्यक्तिहरूको शवलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक रूपमा व्यवस्थापन गर्न स्थानीय उद्धार तथा आपत्कालीन प्रतिकार्य टोलीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हालै चीन–नेपाल सीमा क्षेत्रको रसुवास्थित क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि चीनले सरकारी सहयोगसँगै विभिन्न संस्था र नागरिकस्तरबाट समेत राहत तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *