काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुदन गुरुङलाई सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि राज्यका सबै संयन्त्र तत्काल परिचालन गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत महरले उद्धार अभियानको कमाण्ड सम्हाल्न, सम्बन्धित निकायबीच समन्वय गर्न, आवश्यक निर्णय लिन तथा उपलब्ध जनशक्ति र स्रोत–साधन परिचालन गर्न आग्रह गरेका हुन् ।
सुरुङभित्र फसेका मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशा पलाएको उल्लेख गर्दै उनले नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो र अनिवार्य कर्तव्य भएको बताएका छन् । आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनसमेत उनले आग्रह गरेका छन् ।
महरले सम्बन्धित आयोजनाका प्राविधिक तथा निर्माणकर्तासँग तत्काल छलफल गरी आवश्यक विज्ञ र प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने बताएका छन् । राहत कोषमा अर्बौं रुपैयाँ मौज्दात रहेको उल्लेख गर्दै उनले उद्धारका लागि आवश्यक स्रोत–साधन जुटाएर छिटो काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
‘सबै टनेलमा एकैपटक काम थालौं । त्यहाँ फसेका नागरिकको जीवन रक्षाका लागि एक–एक सेकेण्डको महत्व छ,’ उनले भनेका छन् ।
महरले उद्धारस्थलमा गृहमन्त्रीको प्रत्यक्ष उपस्थितिलाई लिएर समेत प्रश्न उठाएका छन् । अक्सिजन सिलिण्डर बोक्ने लगायतका काममा प्रत्यक्ष संलग्न हुनुभन्दा गृहमन्त्रीले उद्धार अभियानको समग्र कमाण्ड, समन्वय तथा स्रोत परिचालनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘तपाईंको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन । तपाईंले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ महरले भनेका छन् ।
उनले अहिले प्रचारमा आउने वा भाइरल हुने समय नभएको भन्दै नागरिकको जीवन रक्षा नै सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन् ।
‘अहिले भाइरल हुनका लागि स्टन्ट गर्ने बेला होइन, नागरिक जीवन रक्षा गर्ने बेला हो,’ महरले भनेका छन् ।
उद्धार गरिएका नागरिकको उपचार चिकित्सकले गर्ने भएकाले गृहमन्त्रीले अन्य सुरुङमा फसेका नागरिकको जीवन जोगाउन राज्यका सबै उपलब्ध जनशक्ति तथा स्रोत–साधन तत्काल परिचालन गर्नुपर्ने महरको आग्रह छ ।
