लाइपजिग ड्रोन घटनापछि रुसमाथि दबाब बढाउने ईयू र नेटोको तयारी

बीबीसी । जर्मनीको लाइपजिग विमानस्थलमा भएको ड्रोन घटनालाई लिएर रुसमाथि थप दबाब बढाउने तयारीमा युरोपेली संघ (ईयू) र नेटो पुगेका छन् ।

ईयू आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयनले लाइपजिगमा भएको घटनालाई युरोपेली संघको भूमिमा रुसबाट भएको “नयाँ स्तरको तनाव” भनेकी छन्। जर्मनीले गत महिना विमानस्थलमा भएको असफल ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको दाबी गरेपछि उनले रुसको गतिविधिको जवाफ अझ छिटो र प्रभावकारी रूपमा दिनुपर्ने बताएकी हुन्।

“हामीले अझ कडा कदम चाल्नुपर्छ। रुसको गैरजिम्मेवार गतिविधिको जवाफ अझ छिटो र प्रभावकारी रूपमा दिन तयार हुनुपर्छ,” उनले भनिन्।

नेटो महासचिव मार्क रुटेले अमेरिकासहित सम्पूर्ण नेटो गठबन्धन जर्मनीसँग पूर्ण ऐक्यबद्धतामा रहेको बताए।
जर्मनीका अनुसार अगस्ट ४ मा विस्फोटक पदार्थ बोकेको ड्रोनले युक्रेनी कार्गो विमानलाई लक्षित गरेको थियो।

विमानस्थलमा भेटिएको एउटा ड्रोनलाई रोबोटको प्रयोग गरी निष्क्रिय पारिएको थियो भने अर्को ड्रोन कार्गो विमानसँग ठोक्किएको आशंका गरिएको छ। घटनाको १० दिनपछि विमानस्थलमा तेस्रो ड्रोन पनि फेला परेको बताइएको छ।
लाइपजिग विमानस्थल नेटोका लागि महत्वपूर्ण हवाई केन्द्र हो र युक्रेनी एन्टोनोभ कार्गो विमानले पनि यसको नियमित प्रयोग गर्दै आएका छन्।

जर्मन सरकारले प्रहरी अनुसन्धान र गुप्तचर सूचनाका आधारमा घटनामा रुसको संलग्नता पुष्टि भएको दाबी गरेको छ। जर्मनीका गृहमन्त्रीका अनुसार ड्रोनको बनावट, प्रयोग गरिएका उपकरण, विस्फोटक पदार्थ र डेटोनेटर यसअघि रुसले सञ्चालन गरेका ‘हाइब्रिड अपरेसन’मा प्रयोग भएका सामग्रीसँग मेल खान्छन्।

घटनामा संलग्न रहेको आशंकामा दुई संदिग्धको पहिचान भएको जर्मन अधिकारीहरूले बताएका छन्। तीमध्ये एक रुसी राहदानी भएका बेलारुसी नागरिक रहेको र अर्कासँग लाटभिया तथा रुस दुवैको राहदानी रहेको बताइएको छ।

रुसले भने जर्मनीको आरोप अस्वीकार गर्दै आएको छ। रुसी विदेश मन्त्रालयले जर्मनीले आरोप पुष्टि गर्ने प्रमाण प्रस्तुत नगरेको दाबी गर्दै बर्लिनका कदमको “जस्ताको तस्तै” जवाफ दिने चेतावनी दिएको छ।

यसैबीच जर्मनीले बोनस्थित रुसी वाणिज्य दूतावास तथा रुसी हाउस नामक सांस्कृतिक संस्था बन्द गर्ने घोषणा गरेको छ। जर्मनीमा रुसी हाउसलाई क्रेमलिनको प्रचार संयन्त्रका रूपमा प्रयोग भइरहेको आशंका गरिँदै आएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जर्मनीका पछिल्ला कदमलाई “गम्भीर गल्ती” भनेका छन्। रुसले जर्मनीसँग कूटनीतिक सम्बन्ध तोड्ने सम्भावनाबारे समेत संकेत गरेको छ।

जर्मनीले भने आफ्ना सहयोगी राष्ट्रसँग समन्वय गरेर रुसविरुद्ध थप कडा कदम चाल्ने तयारी गरेको छ। यसअन्तर्गत ईयूका थप प्रतिबन्ध र रुसी नागरिकको युरोप प्रवेशमा थप कडाइ गर्ने विषयमा छलफल भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *