काठमाडौँ । भोटेकोसी बाढीका कारण यतिबेला मुलुक शोकमा छ । भदौ १० गते आएको बाढीमा परी मृत्यु हुनेको संख्या १२ सय नाघेको छ भने हजारौँ बेपत्ता छन् । उद्धार र खोजी कार्य भइरहेका छन् । सरकारले आफूले मात्र नसकेर भारत, चीन, दक्षिण कोरिया र अमेरिकाबाटसमेत विज्ञ ल्याएर उद्धारको काम भइरहेको छ । रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङभित्र फसेका कामदारको भने अझै उद्धार हुन सकेको छैन । नेपाली र विदेशी विशेषज्ञ अहिले उनीहरुको उद्धारमा केन्द्रित भएका छन् । सरकारले आफ्नो बलबुताले खोज उद्धार र राहत वितरणको प्रयास गरिरहेको बताउँदै आएको छ । तर पनि सरकारको आलोचना भइरहेको छ । स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारले समन्वय नगरेको, सत्तारुढ रास्वपाका सांसदले आफू भाइरल हुने काममात्र गरेको भन्दै सरकारको आलोचना भएको हो । पार्टीका सांसद बाढी प्रभावित क्षेत्रमा गएर गरेको गतिविधिले सभापति रवि लामिछानेले आफूलाई लज्जाबोध भएको भन्दै त्यसो नगर्न निर्देशन दिएको खबर पनि आएका छन् । गृहमन्त्री सुदन गुरुङले त सुरुङ खन्नसमेत जान भ्याएका छन् । प्रधानमन्त्री दैनिक साँझ संचारमाध्यमले बुलेटिन दिएजस्तो फेसबुकमा दिनभरको गतिविधि पोष्ट गर्दै आएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको यो फेसबुके दौडाहा देख्दा बाढी प्रभावित क्षेत्रमा धेरै काम भइरहेको छ । यस्तो बेलामा सरकारलाई खबरदारी गर्ने कि नगर्ने त ? यो विषयमा प्रवेश गर्नुअघि विगतका केही विषय स्मरण गर्नु आवश्यक छ।
सहकारी ठगी र संगठित अपराधको मुद्दामा जेल परेका रवि लामिछाने धरौटीमा रिहा भएपछि बालेनसँग मिल्न उनलाई दबाब थियो । त्यसपछि रवि र बालेनबीच एकता भयो । चुनावी दौडाहाका क्रममा माघ ५ गते रास्वपाले जनकपुरमा चुनावी सभा आयोजना गरेको थियो । त्यहाँ रविले आफूले आफ्नो स्वर्गीय आमाको तस्बिरमा हेरेर बालेनले देश बनाउन सक्ने भनेको बताए । रविले भने, ‘जुन दिन बालेनजी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकेर घर गएँ, भोलिपल्ट बिहान उठेर मैले हेरेँ, उज्यालो घाम लागेको थियो, मेरो घरमा मेरी स्वर्गीय आमाको तस्बिर छ, मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ । त्यसदिन बिहान जब मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर भनेँ, मैले आमालाई भने आमा बालेनले देश चलाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ, यो भनाइको साक्षी मेरी श्रीमती छिन्, मैले उनलाई भनेर अँगालो हालेर आमालाई भने आमा बालेनले देश बनाउँछ, यो मेरो विश्वास हो ।’
फागुन २१ को निर्वाचनपछि रास्वपाले नसोचेको जनमत पायो । झण्डै दुई तिहाईको मत पाएको रास्वपाले सरकार बनायो । प्रधानमन्त्री बालेन छन् । सत्तामा गएको रास्वपाले गत असारमा चितवनमा पहिलो महाधिवेशन गर्यो । सरकार गठन हुँदा बालेनको जुन क्रेज थियो, त्यो विस्तारै ओरोल लाग्दै थियो । त्यसबेलासम्म आइपुग्दा बालेनबाट हुन्न, रवि प्रधानमन्त्री हुनुपर्छ भन्ने मत बढ्दै गएको थियो र अहिले झन् बढ्दै गएको छ । महाधिवेशन उद्घाटन समारोहमा यस्तो आशंक चिर्ने प्रयास रविले गरे । उनले रास्वपालाई लडाउने र ढलाउने प्रयास हुनसक्ने भन्दै भन्दै त्यसतर्फ सचेत रहेको बताए । उनले भने, ‘म यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु । हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर जुन सहमति गरेका छौँ । त्यो एक एक अक्षर इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रण गर्दछु ।’ उनले यो निजी कुरा नभएको भन्दै सरकार सञ्चालन गर्न चुनाव अघि नै बालेनको खुट्टामा गोल हान्ने जिम्मा दिएको र अब फटाफट गोल हान्ने बताए । उनले झुक्किएर बल अन्त गएपनि बालेनकै खुट्टामा बल पास गर्ने जिम्मा आफ्नो भएको बताए ।
रविले त्यसो त भने, तर खोलामा धेरै पानी मात्र बगेको छैन, बाढी नै आएको छ । गत साउनमा सुनसरीको देवानगंजमा दुई समुदायका नाममा हिंसा फैलियो । सुनसरीमा तीन र सिरहामा एक जनाको ज्यान गयो । सुरुमै प्रधानमन्त्रीलाई देशबासीमा नाममा सम्बोधन गर्न विभिन्न पक्षबाट आग्रह भयो, उनले मानेनन् । जब चार जनाको ज्यान गयो, त्यसपछि बालेन बोले । त्यसबेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गर्नुपर्ने, तर उनले वेवास्ता गरे । रवि आफैँ अघि सरेर सर्वदलीय बैठक आयोजना गरे । प्रधानमन्त्री भएर सबै दलसँग समन्वय गर्नुपर्नेमा उनी वास्तै गरिरहेका देखिँदैनन् ।
सबै दलले संयमता अपनाउन आग्रह गरे । अहिले त्यहाँ शान्ति देखिएको छ । त्यस्तै गत बुधबार भोटेकोसीमा आएको भीषण बाढीमा परी १२ सय भन्दा बढीको ज्यान गइसकेको छ भने हजारौँ बेपत्ता छन् । घटनापछि बालेन भोलिपल्ट नुवाकोट पुगेर पर्किए । तर उनले सर्वदलीय बैठक राखेर विपदमा जुध्न एक हुन दलहरुलाई आग्रह गर्नुपर्ने हो तर उनले केही बैठक राखेनन् । अहिले पनि रवि नै आफैँ अघि सरे । सर्वदलीय बैठक राखे, दलहरुले सरकारलाई सघाउने वचन दिए र सघाइरहेका छन् पनि ।
बुधबार प्रतिनिधिसभा बैठकमा बालेन भोटेकोसी बाढीकाबारेमा जानकारी गराउन आए । सम्बोधनका क्रममा अन्टसन्ट बोले । तर विगतको जस्तो नेपालले भारतको भूमि मिचेको चाहिँ भनेनन् । खासमा सरकार जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको उद्धारमा गम्भीर नदेखिएको भन्दै बढी आलोचना हुने गरेको छ । सुरुमा आफैँ उद्धार गर्ने भनेर विदेशी विशेषज्ञलार्ई अनुमति नदिएको सरकारले मंगलबार भने हात उठाएको अवस्था छ । अहिले बल्ल चिनियाँ, भारतीय, दक्षिण कोरिया र अमेरिकाबाट विज्ञसमेत नेपाल आएका छन् ।
मानिसको जीवनको रहने कि नरहने भन्ने सवालमा एक एक सेकेण्डको महत्व हुन्छ । सम्बोधनमा प्रधानमन्त्रीले दुई कुरा झुट बोले । एउटा स्थानीय र प्रदेश सरकरासँग समन्वयमा काम भइरहेको छ र अर्को सुरुङमा लेदो पसेकाले त्यसलाई निकाल्ने प्रविधि छैन । किनकी सरकारले स्थानीय र प्रदेश सरकारलाई बेवास्ता गरेपछि रवि आफैँ अग्रसर भएर समन्वय गरिरहेको कुरा जनप्रतिनिधिले नै बताइरहेका छन् । अर्को कुरा सुरुङमा पसेको लेदो निकाल्ने प्रविधि छैन भन्ने कुरा पनि गलत भएको विज्ञले नै बताएका छन् ।सदनमा प्रधानमन्त्री बोलेपछि बोलेका विपक्षी दलका नेताहरुले पनि सरकार र त्यसमा पनि प्रधानमन्त्रीको नै आलोचना गरे ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाए । प्रचण्डले प्रधानमन्त्रीले आफ्नै दलका सांसदहरूको समेत विश्वास जित्न नसकेको बताए । प्रधानमन्त्री संसद्मा आएर सांसदहरूको अनुहारसमेत नहेरी फर्किने गरेको भन्दै उनले यस्तो कार्यशैलीबाट सरकार अघि बढ्न नसक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले आफ्नै दलका सांसदलाई विश्वास लिएको मैले देख्दिनँ। यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ। यस्तो पनि तरिका हो ? कसैको अनुहार नहेर्ने पनि तरिका हुन्छ ? यो तरिकाले हुँदैन । अर्काको अस्तित्व पनि स्वीकार गर्नुपर्छ प्रधानमन्त्रीज्यू, नत्र ठूलो मूल्य चुकाउनुपर्ला ।’
त्यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपत्तिको समयमा अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रको सहयोग लिन ढिलाइ हुँदा खोज तथा उद्धार कार्य प्रभावित भएको बताए । उनले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाए । उनले भने, ‘उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसदमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’
उनले सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा सरकारको ढिलाइप्रति आपत्ति जनाए । उनले भने, ‘मन्त्रीका आफन्त त्यहाँ फसेको भए पनि सरकारको व्यवहार यस्तै हुन्थ्यो कि प्राविधिकहरूलाई तत्काल परिचालन गरिन्थ्यो ?’
जुन काम प्रधानमन्त्रीबाट हुनुपथ्र्यो, त्यो नभएपछि रविले आफैँ अग्रसर भएर गरिरहेका छन् । र त सरकार र त्यसमा पनि प्रधानमन्त्री बालेनको आलोचना बढेको छ । अरु सबै घटनालाई छाडौँ र दुई वटा घटनालाई हेरौँ सुनसरीको देवानगंज र भोटेकोसी बाढी । यी दुई घटनामा प्रधानमन्त्रीले खेलेको भूमिका ठिक नभएरै त प्रधानमन्त्रीमाथि विपक्षी दलहरु एकस्वरले आलोचनामा उत्रिएका । प्रधानमन्त्रीको काम र सम्बोधनपछि रास्वपाका सांसद राजु पाण्डेबाहेक सायद कसैको आँखा रसाएनन् होला । रविजीलाई चाहिँ के लाग्छ, अझै बालेनले देश बनाउँछन् भन्नेमा ढुक्क हो ?
