अमेरिकी सेनामा ३० वर्षमाथिका सैनिकको टेस्टोस्टेरोन परीक्षण अनिवार्य

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ३० वर्ष वा सोभन्दा माथिका सक्रिय तथा रिजर्भ सैनिकको टेस्टोस्टेरोन स्तर परीक्षण अनिवार्य गर्ने नीति तत्काल लागू गरेको छ।

पेन्टागनले बुधबार जारी गरेको नयाँ क्लिनिकल निर्देशिकाअनुसार ३० वर्षमाथिका पुरुष सैनिकको नियमित रूपमा रगत परीक्षण गरिनेछ। ३० वर्षभन्दा कम उमेरका पुरुषको भने चिकित्सकले सम्भावित लक्षण देखेमा वा सैनिक स्वयंले अनुरोध गरेमा मात्र परीक्षण गरिनेछ।

महिला सैनिकका लागि नियमित टेस्टोस्टेरोन रक्त परीक्षण अनिवार्य गरिएको छैन। उनीहरूमा थकान, महिनावारीमा गडबडी तथा शरीरमा ऊर्जाको कमीसम्बन्धी लक्षणको परीक्षण गरिने निर्देशिकामा उल्लेख छ।

रक्षामन्त्री पिट हेगसेथले गत जुलाईमा टेस्टोस्टेरोनको कमी पहिचान तथा उपचारका लागि यस्तो नीति घोषणा गरेका थिए। पेन्टागनले यसबाट सैनिकको स्वास्थ्य व्यवस्थापनसँगै सैन्य तयारी क्षमता सुधार हुने दाबी गरेको छ।

तर चिकित्सक तथा विज्ञहरूले सबै सैनिकमा व्यापक रूपमा टेस्टोस्टेरोन परीक्षण गर्दा आवश्यक नपर्ने उपचार हुन सक्ने र त्यसबाट स्वास्थ्यमा जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्। सैन्य कर्मचारीमा सबैलाई टेस्टोस्टेरोनको कमी परीक्षण गर्दा युद्ध तयारी क्षमता सुधार हुने पर्याप्त वैज्ञानिक प्रमाण नरहेको उनीहरूको भनाइ छ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले पनि टेस्टोस्टेरोनको चिकित्सकीय प्रयोगबारे छलफल गर्न सेप्टेम्बरको मध्यमा विज्ञहरूको बैठक आयोजना गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *