भोटेकोशी बाढीमा दिवंगतप्रति बौद्ध महासंघको श्रद्धाञ्जली, बेपत्ताको उद्धारका लागि प्रार्थना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्ति तथा बेपत्ता रहेकाहरूको सकुशल उद्धारको कामना गर्दै नेपाल बौद्ध महासंघले विशेष मोनलम तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको बौद्धस्थित बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य थुप्तेन जिन्पाले बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगतहरूको शान्ति र उत्तम पुनर्जन्मका लागि प्रार्थना तथा पुण्यसमर्पण गर्न सबैमा आह्वान गरे ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै आचार्य जिन्पाले पहिलो सप्ताहको पुण्यतिथिको अवसरमा दिवंगतहरूको चित्त भय, अन्योल तथा सम्भावित दुर्गतिबाट मुक्त होस् र पुण्य तथा सद्कर्मद्वारा निर्देशित भई शान्तिमय र सौभाग्यपूर्ण पुनर्जन्म प्राप्त होस् भन्ने कामना गरे ।

उनले बाढीमा अझैसम्म बेपत्ता रहेका व्यक्तिहरूको सकुशल उद्धारका लागि विशेष प्रार्थना गर्न पनि आग्रह गरे । सम्भव भएसम्मका सबै माध्यमबाट समयमै बेपत्तासम्म पुगेर उनीहरूको उद्धार हुन सकोस् भन्ने कामनासहित सामूहिक रूपमा प्रार्थना गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति पनि सहानुभूति व्यक्त गरिएको थियो । आचार्य जिन्पाले शोकमा रहेका परिवारले गहिरो दुःख र पीडा सहन सक्ने शक्ति, धैर्य र साहस प्राप्त गरून् भन्दै प्रार्थना गर्न अनुरोध गरे ।

त्यसैगरी, बाढीका कारण घर, जीविकोपार्जनका साधन तथा सर्वस्व गुमाएका परिवारले आवश्यक सहयोग, संरक्षण र राहत प्राप्त गर्न सकून् भन्ने कामना गरिएको थियो ।

आचार्य जिन्पाले विपत्तिबाट प्रभावित सम्पूर्ण प्राणीको हितका लागि नेपाली समाज, विभिन्न संघ–संस्था तथा समुदायलाई एकजुट भएर प्रार्थना तथा पुण्यमय कार्य गर्न आह्वान गरे ।

महासंघले मोन्लाम पाठ, दीप प्रज्वलन तथा दीप अर्पण, दान–पुण्यलगायतका सम्पूर्ण पुण्यमय कार्यको पुण्य भोटेकोशी बाढीमा दिवंगत भएका, बेपत्ता रहेका, उद्धार गरिएका तथा विपत्तिका कारण दुःख भोगिरहेका सबैको हित र उद्धारका लागि समर्पण गर्न आग्रह गरेको छ ।

आचार्य जिन्पाले विपत्तिको यस कठिन घडीमा सबैको सामूहिक प्रार्थना, करुणा र सहयोगबाट पीडित परिवारलाई साथ दिन सकिने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *