एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा म्याड्रिडले मालागालाई ४-० गोलले पराजित गरेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घाम, किलियन एम्बाप्पे र आन्द्रा गुलेरले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको १९ औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा मालागाका गोलरक्षक अल्फोन्सो हेरेरोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता दोब्बर बनाएको थियो ।
चार मिनेटपछि एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा गुलेरले गोल गर्दै म्याड्रिडलाई ४-० गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड तीन खेलबाट ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको मालागा पुछारमा रहेको छ ।
