यसरी हुँदैछ जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार

काठमाडौँ । भोटेकोसी बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मित्रराष्ट्रबाट आएको विशेषज्ञसहितको टोलीले खोजीलाई तीव्र बनाएको छ ।

उद्धार टोलीले नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको ‘क्राउन हेड’ फेलापारी ‘कम्प्रेसर’बाट सुरुङभित्र अक्सिजन पठाएको छ । टनेलभित्र पानी भरिएकाले पम्पबाट पानी फाल्ने तयारी गरिरहेको नेपाली सेनाले जनाएको छ ।

यस्तै त्रिशूली–३ ‘बी’ आयोजनाको सुरङ क्षेत्रमा पनि फौज परिचालित भई उद्धारको काम गरिरहेको छ ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि खटिइएको टोली करिब १०० मिटरभित्र पुगी सो भन्दा पर पुगेको छ । सो सुरुङ पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको छ । मित्रराष्ट्रबाट आएका खोज तथा उद्धार टोलीसहित सयुक्त रूपमा रसुवाको हाकुबेँसी, चिलिमे र लाङटाङस्थित सुरुङ इलाकामा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका जङ्गल, डाडाँ, खोला र वस्तीमा स्थानीयलाई सुरक्षा दिन र उद्धारको आवश्यकता मूल्याङ्कनका लागि सेनाले पैदलगस्ती सुरु गरेको छ । त्यसक्रममा स्याफ्रुबेँसी क्षेत्रमा राहत तथा राशन वितरण र लाङटाङ जलविद्युत् इलाकामा ‘रेकी’ तथा ‘पट्रोल’ सञ्चालन गरिएको छ ।

आपतकालीन उपचार केन्द्र त्रिशूली र धुन्चेमा हालसम्म दुई हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ । रसुवाको टिमुरेबाट नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ५०० बढी सैनिक खटिइएका छन् । सेनाले भदौ १० गतेदेखि हालसम्म स्वदेशी र विदेशीसहित तीन हजार २१ जनाको उद्धार गरेको छ । आइतबार मात्रै हेलिकप्टरमार्फत ६२४ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *