काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको विपत्तिको जिम्मेवारी कार्बन उत्सर्जनमा ठूलो योगदान गर्ने विकसित तथा महाशक्ति राष्ट्रहरूले लिनुपर्ने बताएका छन् ।
सामाजिक संजालमार्फत सांसद ढकालले नेपालको कार्बन उत्सर्जनमा योगदान न्यून भए पनि हिमालय पग्लिने र प्राकृतिक विपत्तिको असर भने नेपालले भोग्नुपरेको बताएका हुन् ।
ढकालले नेपालसँग ४७ प्रतिशत वनजङ्गल रहेको तथा प्रकृति र पर्यावरण संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र समुदाय सक्रिय रहेको उल्लेख गरे । उनले नेपालले वातावरण संरक्षणमा योगदान गरिरहेको भए पनि हिमाल तथा हिमतालमा परेको असरको क्षति नेपालीले बेहोर्नुपरेको बताए ।
आफ्ना परिवारका सदस्यसमेत विपत्तिमा गुमाउनुपरेको पीडा व्यक्त गर्दै ढकालले विकसित राष्ट्रहरूले घोषणा गर्ने राहत रकमप्रति असन्तुष्टि जनाए ।
‘प्रकृति तिमीहरूले दोहन गर्ने, जीवनकै क्षति हामीले बेहोर्नुपर्ने?’ भन्दै उनले जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षतिको अन्तर्राष्ट्रियस्तरमा हिसाब खोज्नुपर्ने बताए ।
उनले व्यापार युद्ध र वातावरणीय दोहनका कारण निर्दोष नेपालीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै महाशक्ति राष्ट्रहरूप्रति आक्रोश व्यक्त गरे ।
ढकालले नेपालले बेहोरेको जलवायुजन्य क्षतिको विषयलाई अब संसद्को प्रमुख एजेन्डा बनाउने चेतावनीसमेत दिए ।
