काठमाडौँ । गत बुधबार भोटेकोसीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । शनिबार साँझसम्म ६६९ जनाको शव फेला परेको छ । हजारौँ सम्पर्कविहीन भएको अनुमान गरिएको छ । त्यस्तै जलविद्युत आयोजनाका सुरुङभित्र सयौँ फसेको आशंकामा उद्धार कार्य पनि जारी छ । प्रधानमन्त्री बालेन साह घटनाको भोलिपल्ट नै नुवाकोट पुगेर फर्केका छन् भने गृहमन्त्री त उद्धार कार्यमा आफैँ खटिएका छन् । अनि प्रधानमन्त्री सामाजिक संजालमार्फत सरकार बाढी प्रभावितको साथमा छ भन्दै दैनिक लामो स्टाटस लेख्दै आएका छन्, जुनकुरा सरकारका प्रवक्ताले गर्नुपर्ने हो । तर जसरी काम गर्नुपर्ने हो त्यसरी काम नभएको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले नै बताउँदै आएका छन् ।
रसुुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालको फेसबुक स्टाटस पढ्दा थाहा हुन्छ, प्रभावित क्षेत्रमा जे हुनुपर्ने त्यो भएको छैन । अर्याल सामाजिक संजालमा लेख्छन्, ‘माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने काम बाहेक केही गर्न सक्नुहुन्न। सहकारी कार्यालयको व्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोष्ट पढेँ हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ सामाजिक सञ्जालमा देखिन्छ। मैले अघिनै भने केही क्षेत्रमा बाहेक विपदको अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन ।’
प्रभावित परिवारका सदस्यहरू दिनरात नदी किनार, अस्पताल, प्रहरी कार्यालय र सम्भावित खोजीस्थलतिर आँखा लगाएर बसेका छन् । तर उनीहरुले चित्तबुझ्दो जवाफ पाइरहेका छैनन् । त्यस्तै जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरुको छिटो उद्धारका लागि परिवारका सदस्यहरुले याचना गरिरहेका छन् । बुधबार घटना भएपनि शुक्रबारदेखि मात्र उनीहरुको उद्धारको काम सुरु भएको छ । अझ भारत र चीनको विशेषज्ञको टोलीले शनिबार अपरान्हदेखि काम सुरु गरेको छ । उद्धार ढिलो भएकोमा सरकारप्रति आक्रोश बढेको छ । उनीहरु भन्दै आएका छन्, ‘हामीलाई ‘खोजी कार्य जारी छ’ भन्ने वाक्य मात्रै सुन्नु छैन। खोजी कहाँसम्म पुग्यो भन्ने देख्न र बुझ्न चाहन्छौँ।’
प्रभावित क्षेत्रमा जुन काम हुनुपथ्र्यो, त्यो नभएको सर्वत्र गुनासो बढेपछि शनिबार बिहान पत्रकार अनिल गिरीले यस्तो फेसबुक स्टाटस लेखे, ‘लास राख्ने प्लास्टिक छैन ! लास बुझेर घरसम्म लैजाने एम्बुलेन्स छैन ! ४ दिनदेखि सुरुङमा फसेकाहरुको उद्दार गर्न प्राविधिक टोली छैन ! विदेशीहरुले हामी सहयोग गर्न तयार छौ भन्दा बोलाउने चाहना छैन ! मेरो श्रीमान टनेल भित्र हुनुहुन्छ छिटो झिकिदिनुस् भन्ने पीडितलाई गालीको वर्षा छ तर सहानुभूति छैन ! पहाडका खोँचमा सडेका लास कागले खाँदैछन् उठाउने जनशक्ति छैन ! बाढीमा परेर निधन भएकाहरु जो सयौ संख्यामा छन् उनीहरुको सामूहिक दाहसंस्कार गरिने भएछ तर शव राख्ने मर्चरी समेत छैन ! खुल्ला आकाशमुनि पीडितहरु बसेका छन् त्रिपाल छैन ! तर सरकारको दैवीप्रकोप खातामा ५ अर्ब पैसा छ, सागर ढकाललाई बोक्ने हेलिकप्टर छ ! ११ वर्षअघिको भूकम्पवाट हामीले पाठ नसिकेकै हो ? के सरकारले हात ठड्याकै हो ???’ पत्रकार गिरीले धेरैको मनको कुरा लेखेका हुन्। त्यसैले उनको स्टाटस धेरैले शेयर समेत गरेका छन् । खासमा पत्रकार गिरीले भनेजस्तै अवस्था छ अहिले ।
बुधबारको घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालै प्रधानमन्त्री बालेन साहलाई टेलिफोन गरी सहयोग गर्ने वचन दिएर त्यही साँझदेखि नै मानवीय सहायता पठाउन सुरु गरे । त्यसपछि भारत, चीनलगायतका एक दर्जन देशले उद्धारका लागि टोली पठाउन अनुमति मागेका खबर पनि बाहिरिए । तर उद्धारका लागि सरकारले उनीहरुलाई अनुमति दिएन । बल्ल अनुमति पाएर शुक्रबार राति भारतको र शनिबार अपरान्ह चीनको विशेषज्ञ टोली आएर काम सुरु गरेका छन् । गृहमन्त्री त फिल्डमै खटिएका छन् । उनीसँग प्रभावित क्षेत्रका बासिन्दा दैनिक सरकारको कामप्रति असन्तुष्ट हुँदै विवाद गरिरहेका दृष्य सामाजिक संजालमा छरपष्ट देखिएका छन् ।
उद्धार र राहतको काम राम्रोसँग नभइरहेका बेला सरकारले नारायणी र त्रिशुलीमा भेटिएका शव गाड्ने निर्णय गरेपछि सरकारप्रति झन् आक्रोश बढेको छ । रसुवाको मान्छे नुवाकोट झर्न सकेको छैन । कसैले सूचना पाउन सकेको छैन । ऊ आफैँ त्रासमा छ अनि चितवनमा आएर कसरी लास चिन्छ ?
यो बीचमा परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका समकक्षीसँग टेलिफोन संवाद गरेको खबर आइरहेका छन् । शनिबार उनले चीनका समकक्ष वाङ यीसँग पनि संवाद गरेका छन् । तर प्रधानमन्त्री बालेन साहलाई भारतीय प्रधानमन्त्री मोदीले बुधबार नै फोन गरेका थिए । तर हाम्रा प्रधानमन्त्रीले अहिलेसम्म कुनै मुलुकका समकक्षीसँग टेलिफोन गरी सहयोगको आग्रह गरेको सुनिएको छैन । विगतमा २०७२ को भूकम्पका बेला होस् वा कोभिडको बेला, प्रधानमन्त्रीले विभिन्न मुलुकका समकक्षीसँग आफ्ना नागरिकको ज्यान बचाउन कयौँ पटक संवाद गरेका थिए । तर खै त अहिलेका प्रधानमन्त्रीको तत्परता ? हमासको अपहरणमा परेका विपिन जोशीको रिहाईका लागि प्रधानमन्त्रीहरु, राष्ट्रपति, सभामुखले कति पहल गरेका थिए । एउटा नागरिकको ज्यान जोगाउन राज्यले कस्ता कस्ता सम्झौता गर्छ । तर हाम्रा प्रधानमन्त्रीको मौनता अचम्मको छ । रास्वपाका सांसदलाई हेलिकप्टर चढाएर लैजानुपर्ने आवश्यकता के थियो ? गृहमन्त्री फिल्डका खटिएका छन् ठिकै होला । तर उनी सुरुङको उद्धारका विज्ञ त पक्कै होइनन् ।
सिंहदरबारमा बसेर मन्त्री, प्रधानमन्त्रीले त बरु विज्ञ टिम पठाउने, मित्रराष्ट्रसँग सहयोगका लागि आग्रह गर्न तारतम्य मिलाउने होला नि ! त्यसैले प्रधानमन्त्रीज्यू, मित्रराष्ट्रका समकक्षीसँग संवाद गर्नुस्, सहयोगको याचना गर्नुस् । नागरिकको ज्यान बचाउनु भन्दा ठूलो केही हुन्न । अनि फेसबुकमा लेख्न छाड्नुस् सरकारको प्रवक्ताले गर्नुपर्ने काम । नागरिकको ज्यान जोगाउन सक्रिय भएर लाग्नु भएन र फेसबुकमा सरकारले यसो गरो, उसो गर्यो भनेर त्यसमै भूल्नु भयो भने पीडितका परिवारले धिक्कार्नेछ प्रधानमन्त्रीज्यू, सोच्नुस् एक पटक !
