प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मन(पिएसजी) र बार्सिलोना भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेलमा सकारात्मक नतिजा निकाल्दै पिएसजी अर्को चरणमा पुग्न चाहन्छ । क्याम्प नोउमा भएको पहिलो लेगमा पिएसजी ४-१ गोल अन्तरले विजयी भएको थियो । त्यसैले पिएसजीलाई क्वाटरफाइनल प्रवेशको लागि बराबरीको नतिजा पर्याप्त रहनेछ ।
यता बार्सिलोनालाई भने अर्को चरणमा पुग्न उत्कृष्ट पुनरागमनको आवश्यकता रहेको छ । क्वाटरफाइनल प्रवेशको लागि बार्सिलोनाले आजको खेल कम्तिमा ४-० गोल अन्तरले जित्नुपर्नेछ । सन् २०१७ मा पिएसजीविरुद्व पहिलो लेग ४-० गोलले हारेको बार्सिलोनाले दोस्रो लेगमा ६-१( समाग्रमा ६-५) गोलको शानदार पुनरागमन जित निकालेको थियो ।
आजको खेलमापनि बार्सिलोनालाई सोही खालको पुनरागमन खाँचो रहेको छ । बार्सिलोना आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ । दुई टोलीबिच भएको पछिल्लो १० खेल मध्य ५ खेल बार्सिलोनाले जितेको छ भने ३ खेल पिएसजीले जितेको थियो ।
