काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोको पूर्वसूचना नेपाललाई नदिएको आरोपप्रति नेपालस्थित चिनियाँ दूतावासले स्पष्टीकरण दिएको छ ।
दूतावासले शनिबार विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर घनिष्ठ सञ्चार र सहकार्य हुँदै आएको जनाएको छ। यसैवर्ष मे महिनामा चीनको जलस्रोत मन्त्रालय र सिजाङ स्वायत्त क्षेत्रको जलस्रोत विभागको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा महत्वपूर्ण प्रगति गरेको जनाएको छ।
त्यस्तै, अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरण संस्थानको टोलीले नेपाल भ्रमण गरी वैज्ञानिक अनुसन्धान तथा अनुभव आदानप्रदान गरेको र हिमताल निगरानीसम्बन्धी चीनको अनुभव नेपाली पक्षसँग साझा गरेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार अगस्ट २६ मा चीनको मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरी विपद्को अवस्थाबारे मूल्याङ्कन गर्नुका साथै तथ्याङ्क आदानप्रदान गरेको थियो।
चीनले अहिले पनि नेपालसँग बाँध ताल (बारियर लेक) को निगरानीसम्बन्धी तथ्याङ्कलगायत जल तथा मौसमसम्बन्धी सूचना निरन्तर आदानप्रदान गरिरहेको जनाएको छ। विपद् राहत तथा रोकथामका लागि दुवै देशले संयुक्त रूपमा काम गरिरहेको पनि दूतावासको भनाइ छ।
चीनको मौसम विज्ञान प्रशासनले चिनियाँ बौद्धिक मौसम पूर्वसूचना प्रणालीअन्तर्गत नेपाललाई प्रारम्भिक रूपमा आवश्यकताअनुकूल सेवा उपलब्ध गराएको दूतावासले जनाएको छ।
नेपाली सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा चीनले पहिरो तथा बाढीको पूर्वसूचना दिन नसकेको आरोप लगाइएपछि दूतावासले हिमालय क्षेत्रमा विपद्को जोखिम पहिचान तथा निगरानी अत्यन्त जटिल रहेको बताएको हो।
चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अनुसन्धान उदृत गर्दै दूतावासले हिमालय क्षेत्रमा जोखिमका बिन्दुहरू अत्यन्तै छरिएर रहेको जनाएको छ। अधिकांश हिमताल तथा बरफ–चट्टानका संरचना समुद्री सतहबाट ४ हजारदेखि ५ हजार मिटर वा सोभन्दा बढी उचाइका अत्यन्त चिसा क्षेत्रमा रहेका र त्यस्ता स्थानमा नियमित स्थल सर्वेक्षणबाट न्यून उचाइका क्षेत्रमा जस्तो व्यापक निगरानी गर्न कठिन हुने जनाएको छ।
सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको भूकम्पले हिमालयको दक्षिणी ढलानका चट्टानी संरचनामा असर पारेको र त्यसले उच्च हिमाली क्षेत्रमा रहेका चट्टानी संरचनाको अनिश्चितता थप बढाएको पनि दूतावासले जनाएको छ।
चिनियाँ विज्ञ टोलीहरूले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निरन्तर निगरानी, जोखिम मूल्याङ्कन र विश्लेषण गर्दै आएको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै साझा गर्दै आएको राजदूतावासले स्पष्ट पारेको छ।
नेपाल र चीनबीच विपद् रोकथाम तथा व्यवस्थापनका क्षेत्रमा आगामी दिनमा सहकार्य र सूचना आदानप्रदान थप सुदृढ हुने विश्वाससमेत दूतावासले व्यक्त गरेको छ।


