प्रज्जवल थापा । जर्मन क्ल्ब बोरुसिया डर्टमण्ड युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभिल्लासँग २-२ गोलको बराबरीमा रोकिएपनि समाग्रमा ५-४ गोलको जित निकाल्दै डर्टमण्डले क्वाटरफाइनलको टिकट काटेको हो ।
घरेलु मैदानमा भएको खेलमा डर्टमण्डको लागि युवा खेलाडी इर्लिङ ब्रउट हालान्डले दुई गोल गर्दा सेभिल्लाको लागि युसेफ नेस्रीले दुई गोल गरे । खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा डर्टमन्ड बराबरीमा रोकिन बाध्य भयो । ३५ औं मिनेटमा मार्कुस रियसको पासमा हालान्डले गोल गर्दै डर्टमण्डलाई खेलमा अगाडि बढाएका थिए ।

५४ औं मिनेटमा हालान्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । ६९ औं मिनेटमा युसेफ नेस्रीले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई २-१ को स्थितिमा ल्याए । यस्तै दोस्रो हाफको अतिरिक्त समयको छैटौं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लाको हार टारे । बराबरीका बाबजुत डर्टमण्डले समाग्रमा ५-४ गोलको जित निकालेको हो । पहिलो लेगमा डर्टमण्डले सेभिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
