भोटेकोसीको बाढीले अवरुद्ध रसुवा सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौँ । भोटेकोशी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालसँग पुनः जोडिएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको जानकारी दिए ।

‘सडकखण्डमा आवश्यक मर्मत तथा अवरोध हटाएपछि हाल चार चक्के साना सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था बनेको हो । सडक पूर्ण रूपमा सहज बनाउन थप काम भइरहेको विभागले जनाएको छ’, उनले भने ।

सडक खुलेपछि जिल्लामा अत्यावश्यक सामग्रीको ढुवानी, उद्धार तथा राहत कार्यमा सहज हुने अपेक्षा गरिएको छ ।

बाढीका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि रसुवातर्फको यातायात सम्पर्क प्रभावित भएको थियो । सडक विभागले जोखिमयुक्त स्थानमा आवश्यक सतर्कता अपनाउँदै सडक सञ्चालनमा ल्याउने कामलाई प्राथमिकता दिएको जनाएको छ । विभागका अनुसार सडकखण्डमा यातायात सञ्चालन भए पनि जोखिम कायमै रहेकाले सवारीसाधन सञ्चालन गर्दा आवश्यक सावधानी अपनाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *