-निरज आचार्य ।
नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति छ । नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसङ्घको सदस्य रहँदै आएको छ। नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित छ। यी आधारभूत तथ्यबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनभिज्ञ हुनुहुन्छ भन्ने लागेको छैन ।
तर, नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति भारत भ्रमणका क्रममा दिनुको राजनीतिक सन्देश र कूटनीतिक औचित्यबारे प्रश्न उठाउन उठ्छन् । नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन, तर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अङ्ग हो । त्यसैले, भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु उचित हुँदैन ।
नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा स्थापित छ। औपचारिक कूटनीतिक सम्बन्धदेखि आजसम्म दुवै देशबीच सहकार्य र संवाद निरन्तर रहँदै आएको छ। भविष्यमा पनि यो सम्बन्ध पारस्परिक सम्मान, विश्वास, समानता र साझा हितका आधारमा अघि बढ्नुपर्छ। छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो, तर त्यसका लागि आफ्ना राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु र अतिरिक्त चाकडी आवश्यक छैन ।
कूटनीति भनेको अर्को देशको आलोचना गर्नु वा प्रशंसा गर्नु मात्र होइन; आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नु हो। भारतसँग नेपालको व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीका विषयमा सहकार्य आवश्यक छ। त्यस्तै, सीमा विवादलगायत द्विपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नु पनि उत्तिकै आवश्यक छ। मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर ‘तुम सरणम’ गर्ने धारणा दुवै अतिवादी सोच हुन् ।
स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रले आफ्नो धारणा आफ्नै राष्ट्रिय हित र प्राथमिकताका आधारमा व्यक्त गर्नुपर्छ। तेस्रो मुलुकमा पुगेर आफ्नै देशको राष्ट्रवादी दृष्टिकोणलाई पुरानो वा असान्दर्भिक ठहर्याउने अभिव्यक्तिले कस्तो सन्देश दिन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। नेपाल र भारतबीचको सम्बन्ध न त क्षणिक राजनीतिक अभिव्यक्तिले मात्र निर्माण भएको हो, न त कुनै एक नेताको दृष्टिकोणले मात्र निर्धारण हुनेवाला छ। यो दुई देशका जनता, साझा इतिहास र दीर्घकालीन हितसँग जोडिएको सम्बन्ध हो। त्यसैले, अनावश्यक चाकडी वा उत्तेजना दुवैबाट मुक्त हुँदै पारस्परिक सम्मान, स्पष्ट राष्ट्रिय अडान र व्यावहारिक सहकार्यमा आधारित कूटनीति अवलम्बन गर्नु नै नेपालको हितमा हुन्छ।
(आचार्य एमाले प्रचारप्रसार विभाग प्रमुख हुन् ।)
