जितका बाबजुद च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस

प्रज्जवल थापा । इटालियन क्लब युभेन्टस युईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युभेन्टस ३-२ गोल अन्तरले विजयी भएपनि समाग्रमा ४-४ गोल भएसँगै पोर्टो अवे गोलको आधारमा क्वाटरफाइनल प्रवेश गरेको हो ।

युभेन्टसको लागि फेड्रिको चिएसाले दुई र एन्ड्रिन राबियोटले एक गोल गरे । पोर्टोको लागि सेर्जियो ओलिभेराले दुई महत्त्वपूर्ण गोल गरे । खेलको १९ औं मिनेटमा ओलिभेराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा रोनाल्डोको पासमा फेड्रिको चिएसाले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए ।

६३ औं मिनेटमा कौड्राडोको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । निर्धारित समयमा समाग्रमा नजिता बराबर भएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १ सय १५ औं मिनेटमा सेर्जियो ओलिभेराले फ्रिकिकमा शानदार गोल गरेपछि पोर्टोले खेलमा बराबरी गरेको थियो । त्यसको दुई मिनेटमापछि बेर्नार्डेस्कीको पासमा राबियोटले गोल गर्दै युभेन्टसलाई जित दिलाएपनि क्वाटरफाइनल प्रवेशको लागि पर्याप्त भएन ।

पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यससँगै युभेन्टस लगातार दोस्रो वर्ष अन्तिम १६ बाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *