काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत शिगात्से शहरको केरोङ क्षेत्रमा गएको पहिरोप्रति गम्भीर चासो व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
बुधबार बिहान गएको पहिरोका कारण केरोङ क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै केही व्यक्ति बेपत्ता भएको जनाइएको छ।
राष्ट्रपति सीले बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र घाइतेको उपचारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले मानवीय क्षति न्यून गर्न पूर्वसूचना तथा निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्न पनि भनेका छन्।
बाढी नियन्त्रणको संवेदनशील अवधि चलिरहेको उल्लेख गर्दै सीले बाढी तथा आँधीबेहरीबाट उत्पन्न जोखिमको निरन्तर निगरानी गरी सम्भावित ठूला विपत्तिबाट जनधनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको सिजीटिएनले जनाएको छ ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ताको संख्या यकिन गरी सम्पूर्ण शक्ति परिचालन गरेर खोजी तथा उद्धारमा जुट्न निर्देशन दिएका छन्। उनले वैज्ञानिक ढंगले उद्धार गर्न र सम्भावित थप विपत्तिबाट बच्न आवश्यक तयारी गर्नसमेत आग्रह गरेका छन्।
प्रधानमन्त्री लीले चिनियाँ परराष्ट्र मन्त्रालयलाई सम्बन्धित देशसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सहकार्य गर्न निर्देशन दिएका छन्। साथै, राष्ट्रिय बाढी नियन्त्रण तथा विपत्ति न्यूनीकरण निकायलाई देशभर जोखिमको निरीक्षण गर्न भनिएको छ।
राष्ट्रपति सी र प्रधानमन्त्री लीको निर्देशनपछि चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री चाङ कुवो छिङ सम्बन्धित अधिकारीसहित घटनास्थल पुगेका छन्। उनले उद्धार तथा राहत कार्यको निरीक्षण गरिरहेका छन्।
सिचाङ स्थानीय सरकारले पनि घटनास्थलमा ठूलो जनशक्ति परिचालन गरी खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ । चीनतर्फ आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको छ ।
