अन्नबालीमा वन्यजन्तुको आतङ्क, टिमुरमा किसानको भरोसा

पाल्पा । पाल्पाका किसान टिमुरखेतीमा आर्कषित भएका छन्। खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए।

यहाँका धेरैजसो किसानले बारीभरि टिमुर बताए। “यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ”, सारुले भने। टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ।

रिब्दीकोट गाउँपालिका–ढुस्टुङका तारा बगालेले पनि व्यावसायिक रुपमा टिमुरखेती गरेकी छिन्। टिमुरखेतीमा वन्यजन्तुले खासै क्षति नपुर्‍याउने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजार पाउन सहज हुने भएकाले अन्नबालीको विकल्पका टिमुरखेती रोजेको उनको भनाइ छ।

पहिले मकैखेती लगाउँदै आएकी उनले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएकी छिन्। दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुरखेती गर्न थालेको उनी बताउँछिन्।

बगालेले भनिन्, “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएको हुँ ।” टिमुरबाट राम्रो आम्दानीसमेत हुने उनको भनाइ छ।

निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट गत वर्ष २० वटा बिरुवा लिएर अहिले खेती थालेका छन्। लगाएको अन्नवाली वन्यजन्तुले खाइदिएर हैरान बनाएपछि अहिले टिमुरखेती गर्न लागेको उनले बताए।

रैनादेवी छहराका ध्रुवबहादुर रानाले पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे। जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो तब बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउँछन्।

रानाले भने, ‘वन्यजन्तुको आतङ्कले अन्नबाली लगाउन सकेनौँ, अहिले हामीले टिमुरखेती गरेका छौँ । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजार बढी किसानलाई फाइदा पुगेको छ ।’ असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन्।

डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङकले पाल्पाका किसान टिमुरखेतीप्रतिको आकर्षित भइरहेको बताए। पाल्पाको भौगोलिक बनोट र हावापानी टिमुर खेतीका लागि अत्यन्तै उपयोगी रहेको छ । नेपाल सरकारले टिमुरलाई जडीबुटी प्रजातिमध्ये एक प्रमुख बाली मानेको छ।

टिमुरसहित १२ जडीबुटी प्रजातिलाई खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखिएपछि किसानको आकर्षण बढेको तामाङ बताउँछन्। डिभिजन वन कार्यालयले विगत तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न पहल गरिरहेको छ।

वन कार्यालयले टिमुरखेती गर्न चाहने किसानलाई बिरुवा उपलब्ध गराउँदै आएको छ। स्थानीयस्तरमै पर्याप्त बिरुवा उत्पादन गर्न नसकिएपछि पश्चिम नेपालका अन्य जिल्लाबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरिएको कार्यालयले जनाएको छ।

कार्यालयले पहिलो वर्ष १० हजार बिरुवा वितरण गरेको थियो। त्यसपछिको आर्थिक वर्षमा किसानको मागअनुसार २० हजार बिरुवा वितरण गर्दै आएको छ। पछिल्लो समय किसानको मागअनुसार बिरुवा उपलब्ध गराउनसमेत कठिन हुन थालेको सूचना अधिकारी तामाङ बताउँछन्।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार पाल्पाको अधिकांश भू–भागमा टिमुर खेतीको सम्भावना छ। अग्लो तथा ओसिलो स्थानमा समेत खेती गर्न सकिने भएकाले जिल्लाका विभिन्न क्षेत्रमा यसको विस्तार गर्न सकिने उनले बताए।

“अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुरखेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ,” श्रेष्ठले भने। उनका अनुसार एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौंसम्म त्यसबाट आम्दानी लिन सकिन्छ । यही कारण वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुर किसानका लागि वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको छ।

एकातिर बाँदर र बदेलको आतङ्कबाट अन्नबाली जोगाउन किसानलाई चुनौती थपिँदै गएको छ भने अर्कोतिर टिमुरले त्यही चुनौतीलाई अवसरमा बदल्ने बाटो देखाएको छ। वन्यजन्तुले अन्नबाली खोस्दै गर्दा किसानले भने टिमुरमार्फत सुरक्षित खेती र आम्दानीको नयाँ बाटो रोजेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *