-ऋषि कट्टेल ।
अचेल नेपाली राजनीतिक बजारमा नेतृत्व सामूहिक कि एकल वा सरकार पार्टीको नियन्त्रणमा हुने वा नहुने जस्ता विषहरुमा निकै बहस हुने गरेको र यसले दलहरु भित्र धेरैनै अन्तरविरोध सिर्जना गरेको छ । यसमा स्पष्ट दुई मान्यताहरु छन् ।
१) पूँजीवादी मान्यता पूँजीवादी पार्टीहरुको नेतृत्व सामूहिक हुँदैन । किनकी पूँजीवाद भनेको व्यक्तिवाद हो । सामूहिकता यसको शब्दकोषमानै छैन । यिनीहरुको विधानमै निर्वाचित अध्यक्षले मनोनित गर्ने समेत व्यवस्था छ । उनीहरु निर्वाचित अध्यक्षले ढुक्कसँग कामगर्न पाउनु पर्दछ भन्छन् । अध्यक्षले मेरो जिम्मेवारी भन्छ समितिको जिम्मेवारी भन्दैन । त्यस्तै सरकार पनि संसदीय दलको नेता वा राष्ट्रपतिको नियन्त्रणमानै चल्छ । पार्टीको सरकार संचालनमा उपस्थिति देखिँदैन । भारतका प्रधानमन्त्री मोदीबारे सबैलाई थाहा छ तर त्यो पार्टीको अध्यक्षबारे जानकारीनै छैन । ट्रम्पबारे थाहा छ तर ट्रम्पको पार्टी अध्यक्ष कसैलाई थाहा छैन ।
२) कम्युनिष्ट मान्यता सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी । अर्थात् लेनिनवादी संगठनात्मक सिद्धान्त । व्यक्ति संगठन मातहत, तल्ला संगठन माथिल्लो संगठन मातहत र सबै संगठन महाधिवेशन मातहत हुन्छन् । यहाँ व्यक्तिको प्रश्न हुँदैन । अध्यक्ष वा महासचिवको पद व्यक्तिगत जिम्मेवारी हो । महाधिवेशनले केन्द्रीय समिति निर्वाचन गर्दछ र केन्द्रीय समितिले पदाधिकारी निर्वाचित गर्दछ र सरकार पनि पार्टीले संचालन गर्दछ । पुष्पलालले यसलाई नेता प्रधान हैन नीति प्रधान हो भनेर परिभाषा गरेका छन् ।
अहिले एमाले र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेतृत्व परिवर्तनबारे निकै बहस छ । नीतिकाबारे बहस छैन । नीति प्रधान हैन नेता प्रधानको पक्षले त्यहाँ प्रधानता पाएको छ । एमालेले विशेष गरि यसको आठौँ महाधिवेशनपछि खासगरी वहुदलीय जनवादलाई सिद्धान्त मानेछि लेनिनवादी संगठनात्मक सिद्धान्त त्यागेन मात्र हैन वर्ग समन्वयवाद अँगालेर कम्युनिष्ट सिद्धान्तनै त्याग्यो । अहिले त्यहाँ नेतृत्वबारे भएको विवाद भ्रमका कारण सिर्जना भएको हो । हिजोको कम्युनिष्ट सैद्धान्तिक मान्यता र आज पूँजीवादमा पतन पछिको संगठनात्मक सिद्धान्तकाबारेको भ्रम हो । जहाँसम्म नेपाली कम्युनिष्ट पार्टीको प्रश्न छ संसदवादलाई उसले पनि आफ्नो सिद्धान्त अंगिकार गरिसकेकोले ऊ पनि सिद्धान्तत वर्ग समन्वयवाद अर्थात् पूँजीवादमा पतन भैसकेको छ । तर आजसम्म उसले लेनिनवादी संगठनात्मक सिद्धान्त भने औपचारिक रुपमा परित्याग गरेको घोषणा गरेको छैन । हेरौँ आउने महाधिवेशनमा के गर्छ ? त्यसकारण यी पार्टीमा नेतृत्व सम्बन्धि विवाद नीतिगत विचलनको परिणाम हो ।
