युरोप । सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र लगातार बढ्दो गर्मीका कारण जलवायु परिवर्तनको इतिहासमै चिन्ताजनक वर्षका रूपमा देखिएको छ । युरोप अन्य कुनै पनि महादेशको तुलनामा तीव्र गतिमा तातिरहेको अवस्थामा यस वर्षका तापक्रमसम्बन्धी रेकर्डले थप चिन्ता बढाएको छ ।
गर्मीका समयमा युरोपका केही दक्षिणी क्षेत्रमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्नु सामान्यजस्तै भइसकेको छ । तर सन् २०२६ मा सामान्यतया तुलनात्मक रूपमा चिसो मानिने युरोपका मध्य, उत्तरी र पश्चिमी क्षेत्रमा समेत पहिलोपटक ४० डिग्री सेल्सियसको सीमा पार भएको छ ।
युरोपेली ड्राउट अब्जर्भेटरी (ईडीओ)को अगस्ट १५ सम्मको दैनिक अधिकतम तापक्रममा आधारित एएफपीको विश्लेषणअनुसार टर्कीबाहेक युरोपका त्यस्ता क्षेत्रमा करिब एक करोड ८० लाख मानिस बसोबास गर्छन्, जहाँ सन् २००० पछि पहिलोपटक तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो ।
यसको ठूलो प्रभाव जर्मनीमा देखिएको छ। जर्मनीका करिब ९० लाख मानिस बसोबास गर्ने क्षेत्र, विशेषगरी बर्लिनको दक्षिण तथा पश्चिम र फ्र्याङ्कफर्ट आसपासमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो । फ्रान्सका पूर्वी क्षेत्र तथा ब्रिटनीसहित करिब ४० लाख मानिस बसोबास गर्ने क्षेत्रमा पनि यस्तै अवस्था देखिएको थियो ।
ईडीओका अनुसार तापक्रम अचानक बढ्दा मानव शरीरलाई त्यससँग अनुकूल हुन कठिन हुन्छ। तर लामो समयसम्म लगातार उच्च तापक्रम रहनु स्वास्थ्यका लागि अझ गम्भीर चिन्ताको विषय बन्न सक्छ ।
स्पेनमा लामो समयसम्म अत्यधिक गर्मी देखिएको छ । जुनको मध्यदेखि अगस्टको मध्यसम्म लेरिडा, कर्डोबा र ग्रानाडा आसपासका क्षेत्रमा ५५ दिनभन्दा बढी समय तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि रहेको थियो ।
एन्डालुसियामा पछिल्ला वर्षहरूमा, विशेषगरी सन् २०२५ र २०२३ मा पनि लामो समयसम्म यस्तो गर्मी देखिएको थियो। तर उत्तरतर्फको लेरिडामा भने सन् २०२६ मा पहिलोपटक यस्तो अवस्था देखिएको हो ।
स्पेनको मौसम निकाय एइएमइटीका अनुसार लेरिडा मौसम केन्द्रमा लगातार एक महिनाभन्दा बढी समय हरेक दिन ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रेकर्ड भएको थियो ।
साइप्रसको राजधानी निकोसियाका बासिन्दाले पनि ५५ दिनभन्दा बढी समय ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सामना गरेका थिए ।
यस वर्ष मध्य, पूर्वी तथा उत्तरी युरोपका धेरै देशले आफ्नो इतिहासकै उच्च तापक्रमसम्बन्धी रेकर्ड तोडेका छन् । डेनमार्कमा तापक्रम ३७ डिग्री सेल्सियस पुगेको थियो भने स्लोभाकियामा ४२।२ डिग्री सेल्सियससम्म पुगेको थियो ।
जर्मनी, अस्ट्रिया, चेक गणतन्त्र र पोल्यान्डका विभिन्न क्षेत्रमा पनि तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुगेको थियो ।
यस गर्मीयाममा युरोपकै सबैभन्दा उच्च तापक्रम सम्भवतः इटालीमा रेकर्ड भएको थियो। क्षेत्रीय वातावरण संरक्षण निकाय एआरपीएएसका अनुसार जुलाई १९ मा सार्डिनियाको ओरानीमा तापक्रम ४८।४ डिग्री सेल्सियस पुगेको थियो ।
यो तापक्रम सन् २०२१ मा सिसिलीमा रेकर्ड भएको युरोपेली उच्चतम तापक्रम ४८।८ डिग्री सेल्सियसभन्दा केही कम हो ।
रातमा पनि २५ डिग्री सेल्सियसभन्दा माथि
युरोपमा बढ्दो गर्मीको अर्को चिन्ताजनक पक्ष रातको तापक्रमसमेत उच्च रहनु हो । दिनभर अत्यधिक गर्मी भएपछि मानिसहरूले रातमा केही राहतको अपेक्षा गर्छन् । तर सन् २०२६ मा धेरै क्षेत्रमा रातको समयमा समेत पर्याप्त चिसो हुन सकेन ।
ईडीओका अनुसार युरोपका त्यस्ता क्षेत्रमा करिब एक करोड ८० लाख मानिस बसोबास गर्छन्, जहाँ रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल झरेन ।
यो अवस्था विशेषगरी फ्रान्सको पे दे ला लोयर क्षेत्रका करिब ५० लाख मानिस तथा पेरिस आसपासका क्षेत्रमा देखिएको थियो ।
इटालीको आल्प्स पर्वतको फेदीमा रहेका केही क्षेत्रमा पनि यसअघि सामान्यतया नदेखिएको तातो रातको अवस्था देखिएको थियो। पोल्यान्डमा पनि यो प्रभाव विशेषगरी राजधानी वार्सा आसपाससम्म फैलिएको थियो ।
दक्षिणी इटालीमा रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल नझर्नु तुलनात्मक रूपमा सामान्य मानिन्छ। तर यस वर्ष केही क्षेत्रमा यस्तो अवस्था अझ गम्भीर बनेको थियो ।
इटालीको पश्चिमी भाग, सिसिली र दक्षिणी एड्रियाटिक तटका केही क्षेत्रमा दुई महिनाको अवधिमा २० भन्दा बढी दिन रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा माथि रहेको थियो ।
समुद्रपारि क्रोएसियाको ब्राच टापु आसपासमा पनि यस्तै अवस्था देखिएको ईडीओको तथ्याङ्कले देखाएको छ ।
लगातार बढिरहेको दिनको तापक्रमसँगै रातमा समेत शरीरले पर्याप्त राहत नपाउनु युरोपका लागि नयाँ चुनौती बन्दै गएको छ । विज्ञहरूका अनुसार लामो समयसम्म उच्च तापक्रम कायम रहँदा मानिसको स्वास्थ्य, ऊर्जा प्रणाली, कृषि तथा वातावरणमा समेत गम्भीर असर पर्न सक्छ ।
सन् २०२६ का यी तथ्याङ्कले युरोपमा जलवायु परिवर्तनको प्रभाव अब केवल गर्मीयाममा केही दिन अत्यधिक गर्मी हुने घटनामा सीमित नरहेको देखाएको छ । बरु गर्मीको अवधि लामो हुँदै जानु, नयाँ क्षेत्रमा ४० डिग्री सेल्सियसको तापक्रम पुग्नु र रातसमेत असामान्य रूपमा तातो रहनुले युरोपको बदलिँदो जलवायुको गम्भीर संकेत दिएको छ ।
