टप एण्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो जित निकालेको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले हराउँदै प्रतियोगितामा जितको खाता खोलेको हो ।

नेपाल ‘ए’ ले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्स एकेडेमी १८.३ ओभरमा ११५ रनमै अलआउट भयो । उसका लागि नितेश सामुएलले ३७ तथा टिम वार्डले २३ रन बनाए ।

नेपालको बलिङमा नारायण जोशीले सर्वाधिक तीन विकेट लिए । शाहब आलम र पवन सर्राफले दुई–दुई विकेट हात पार्दा विपिन खत्रीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौकासहित उक्त स्कोर बनाए । मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन जोडे । तृतराज दासले १० रन बनाए ।

नेपाल ‘ए’ को यो प्रतियोगितामा तेस्रो खेलमा पहिलो जित हो । यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *