रेड नोटिस जारी भएका बलात्कार मुद्दाका अभियुक्त ओमनबाट पक्राउ

काठमाडौं । बलात्कार तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–३ का बिमल राजवंशी रहेका छन्।

राजवंशीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो।

रेड नोटिस जारी भएपछि नेपालस्थित एनसीबी काठमाडौं र ओमनस्थित एनसीबी मस्कटको समन्वयमा राजवंशीलाई ओमनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राजवंशीलाई एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजमार्फत शनिबार साँझ नेपाल ल्याएको हो।

नेपाल आइपुगेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। उनीमाथि करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *