काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई किस्तीमा आएको प्रधानमन्त्री पद विगतमा हाँसी हाँसी अस्वीकार गरिदिएको बताएका छन् ।
आइतबार पार्टीको नीति, सङ्गठन र नेतृत्व कार्यक्रमको पहिलो शृङ्खलामा सभापति लामिछानेले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका हुन् । उनले भावी भावी आन्दोलन र जनताको आशालाई निभ्न नदिन आफूले त्याग गरेको दाबी गरे ।
उनले भने, ‘२१ सिटको दलको नेता हुँदा मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएकै हो । हुन चाहेको भए गाह्रो थिएन । त्यतिबेला एउटै कुरा दिमागमा आयो, यत्रो आन्दोलन र जनताको यत्रो आशा कहाँ जान्छ ? दुई–चार महिना, ६ महिना प्रधानमन्त्री बन्थेँ होला । सिंहदरबारमा तस्बिर झुण्ड्याउँथे होला । तर देशले यत्रो आन्दोलन र परिवर्तन कुरेर बसेको थियो ।’
सभापति लामिछानेले अब बितेका ३५ वर्षको हिसाब खोजेर बस्नुभन्दा आगामी ३५ वर्षका लागि योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस् ।’ उनले विगतका नेतृत्वले आफ्नो क्षमताअनुसार काम गरिसकेको भन्दै अब उनीहरूलाई दोष दिइरहनुको अर्थ नरहेको बताए।
उनले भने, ‘बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद ।’ उनले अहिले सरकार मात्र नभई प्रतिपक्ष पनि बलियो रहेको उल्लेख गर्दै बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर पार्टीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।
