काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता ज्ञवालीले पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको दाबी गरेका हुन् । उनले दक्षिण एसियामै तुलनात्मक रुपमा खुला रहेको नेपालको स्पेस अहिले संकटमा परेको बताए ।
उनले भने, ‘ठूलो जनादेश प्राप्त गरेको रास्वपा सरकारमा आएको छ । अहिले देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । पछिल्ला पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् । सरकार निर्वाचित अधिनायकवादतिर छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्त्व छैन, संसद् पनि कुनै अर्थको छैन । जुन पार्टीले आफूलाई प्रधानमन्त्री बनायो, त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरूसँग वा अन्य राजनीतिक दलहरूसँगको संवाद त धेरै टाढाको कुरा भयो ।’
उनले राष्ट्रपति संस्थाको महत्व नदिइएको, संसदलाई अर्थहीन बनाइएको, आफूलाई प्रधानमन्त्री बनाउने पार्टीप्रति समेत सरकारको सरोकार नरहेको आरोप लगाए । उनले संसदभित्रबाट सरकारको सम्भावित अधिनायकवादलाई रोक्ने बलियो विकल्पसमेत नरहेको बताए ।
