चीन । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको छ।
हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ। कम्पनीका शेयरधारकहरूले भने उक्त लगानीबाट प्रतिफल प्राप्त गर्ने विषयमा चासो व्यक्त गर्दै आएका छन्।
“कम्पनीको विश्वव्यापी एआई नेतृत्व विस्तार गर्न शेयर निष्कासन गर्न लागिएको हो”, अलिबाबाले आइतबार विज्ञप्तिमा भनेको छ। कम्पनीका अनुसार शेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआईसम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो ‘फुल–स्ट्याक एआई क्षमता’ विकासमा लगानी गरिनेछ।
अलिबाबाले बिहीबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको राजस्व करिब २६९ अर्ब युआन (करिब ४० अर्ब अमेरिकी डलर) पुगेको छ। विश्वव्यापी रूपमा एआईसम्बन्धी प्रविधिको माग बढेसँगै कम्पनीका उत्पादनको मागमा समेत वृद्धि भएको जनाइएको छ।
अलिबाबा आफ्नो खुला स्रोतको ‘क्वेन’ एआई मोडेलका लागि परिचित छ। उक्त मोडेल विश्वभरका विकासकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ।
