काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लामो समय विदेशमा उपचारपछि स्वदेश फर्किएका पार्टीका पूर्वसभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । आइतबार उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा महरले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । देउवाको स्वास्थ्य राम्रो रहेको थाहा पाएपछि आफू खुसी भएको उनले बताएका छन् ।
महरले पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले पार्टी एकताका लागि सभापति गगनकुमार थापालगायत सबै नेतासँग आफूहरूले संवाद गरिरहेको जानकारीसमेत देउवालाई गराएका थिए ।
त्यस क्रममा महरले देउवा र सभापति थापाबीच भेटघाट तथा संवाद आवश्यक रहेकोमा जोड दिएका थिए ।
जवाफमा देउवाले आफूले पार्टीभित्रको विवाद समाधानका लागि पहल गरिरहेको बताएका थिए । अदालतको निर्णय आएपछि थप प्रक्रिया अघि बढाउने धारणा देउवाले राखेको महरले जानकारी दिएका छन्।
महरले भनेका छन्, ‘पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा उहाँको भूमिका महत्वपूर्ण रहेको कुरा राख्दै आफूहरुले पार्टी भित्र एकताको लागि सभापति गगनकुमार थापा लगायत सबैसँग सम्बाद गरेको सुनाएँ । सभापति गगनकुमार थापा र उहाँबीच भेटघाट तथा संवादको आवश्यकता पनि औँल्याएँ । उहाँले आफूले मिलाउन पहल गरिरहेको बताउँदै अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो।’
