अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न। अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् ।

कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् ।

‘अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो’, कोलिन्सले पत्रकारहरूलाई बताइन् । सङ्क्रमित जङ्गली चराहरू वा तिनको साझा वातावरणको सम्पर्कमा आएपछि सिलमा भाइरस सरेको हुन सक्ने उनले बताइन् ।

हालसम्म यो घटना अन्य बिरामी वा मृत समुद्री स्तनधारी जीवसँग सम्बन्धित रहेको कुनै प्रमाण फेला नपरेको उनले उल्लेख गरिन् । अधिकारीहरूका अनुसार अस्ट्रेलियाभर एच–५ बर्ड फ्लुका २९८ सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये १८३ वटा घटना दक्षिण अस्ट्रेलियामा देखिएका छन् ।

यद्यपि, अस्ट्रेलियाको कुखुरापालन तथा कृषि उत्पादन प्रणालीमा एच–५ बर्ड फ्लुको सङ्क्रमण फैलिएको कुनै प्रमाण फेला नपरेको अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *