-भावना राउत ।
तीन वर्षकी नानीमाथि भएको बलात्कार र हत्याको खबरले मभित्र रिस, पीडा र एउटा गहिरो प्रश्न एकैपटक जन्माएको छ, हामी आखिर कति पटक असफल हुने हो ? म पनि आक्रोशित छु। म पनि दुःखी छु। मन भक्कानिएको छ। तर यो घटनामा दोषी पक्राउ पर्नु र उसलाई कानुनअनुसार सजाय हुनु मात्रै पर्याप्त छैन। न्याय त चाहिन्छ नै, तर न्यायको अर्थ अपराध भइसकेपछि सजाय दिनु मात्र होइन, अपराध हुन नदिन सक्ने समाज र प्रणाली निर्माण गर्नु पनि हो। हामीले एउटा ३ वर्षकी बच्चालाई गुमायौँ। अब फेरि केही दिन आक्रोश पोख्ने, दोषीलाई गाली गर्ने र अर्को घटनाको प्रतीक्षा गर्ने हो भने हामीले केही पनि सिकेनौँ ।
हामीले प्रश्न गर्नैपर्छ । ३ वर्षकी बच्चा हराउँदा हाम्रो राज्यको बाल संरक्षण प्रणाली कहाँ थियो ? खोजीका लागि भएका संयन्त्रहरू कहाँ थिए ? के–के प्रयास गरियो? के गरिएन? र यदि लापरबाही भएको थियो भने त्यसको जिम्मेवारी कसले लिन्छ? अझ कठिन प्रश्न पनि सोध्नुपर्छ, १६ वर्षको एउटा किशोर यस्तो अपराध गर्न सक्ने मानसिकतासम्म कसरी पुग्यो ? हाम्रो घरले के सिकायो ? हाम्रो विद्यालयले के सिकायो? हाम्रो समाजले के सिकायो? र राज्यले के गर्नुपर्ने थियो, जुन गरेन ?
बालबालिकामाथिको हिंसा रोक्न सकिन्छ । त्यसका लागि शिक्षा,सुरक्षित वातावरण, बाल संरक्षणका प्रभावकारी संयन्त्र र हिंसालाई सामान्य बनाउने सामाजिक सोचविरुद्ध निरन्तर काम गर्नुपर्छ। यो विश्वभरको बाल हिंसासम्बन्धी प्रमाणले देखाएको कुरा हो। तर हामी अझै पनि अपराध भएपछि मात्रै जाग्छौँ। किन ?
कति वटा बालबालिकाले अझै पीडा भोग्नुपर्ने हो, हामीले आफूलाई बदल्नुअघि ? कति आमाबुवाले आफ्नो बच्चा गुमाउनुपर्ने हो, हामीले प्रणाली बदल्नुअघि ? कति पटक हामीले ‘दोषीलाई कडा सजाय होस्’ भनेर मात्रै चिच्याउने हो, ‘यस्तो हुनै नदिन हामीले के गरिरहेका छौँ ?’ भनेर सोध्नुअघि ? यो केवल प्रहरीको असफलता होइन। केवल सरकारको असफलता होइन। यो हाम्रो सामूहिक असफलता हो । त्यसैले आज मलाई केवल न्याय चाहिएको छैन। मलाई जवाफ चाहिएको छ। मलाई जवाफदेहिता चाहिएको छ। मलाई प्रणालीमा परिवर्तन चाहिएको छ।
