काठमाडौँ । पेटभित्र सुनजस्तो देखिने धातुका क्याप्सुल लुकाएर ल्याएको आरोपमा एक बंगलादेशी नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद रासेल हल्दार रहेका छन् । उनी फ्लाई दुबईको एफजेड ११३३ नम्बरको उडानमार्फत गत ३१ साउन दुबईबाट काठमाडौं आएका थिए ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर उनलाई नियन्त्रणमा लिएका थिए । सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् ।
त्यसपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा पेल्भिक एरियाको एक्स–रे परीक्षण गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु बाहिर ननिस्किएर पेटमै अड्किएको र उनको स्वास्थ्यमा कुनै प्रतिकूल असर नदेखिएको प्रहरीले जनाएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पाँच दिन अस्पतालमा भर्ना गरेर राखिएको थियो । ५ भदौमा शौच गर्ने क्रममा अन्दाजी १५० ग्राम तौल भएको सुनजस्तो देखिने पहेँलो क्याप्सुल आकारका दुई थान धातु फेला परेको प्रहरीले जनाएको छ ।
