नागढुंगाबाट ५३ लाख बराबरको भन्सार छलीको सामान बरामद, बस चालक पक्राउ

काठमाडौँ । नागढुंगाबाट प्रहरीले बिल–बीजकबिनाका करिब ५३ लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले सामानसहित बस चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार साँझ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले दिल्लीबाट काठमाडौँआउँदै गरेको बा.प्र.०३–००१ ख ३५३६ नम्बरको बस चेकजाँच गरेको थियो।

जाँचका क्रममा बसको पछाडिको प्यासेजमा गोप्य स्टोर बनाई लुकाएर ल्याइएका विभिन्न कम्पनीका मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा तथा जुत्ता फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उदयपुरको कटारी नगरपालिका–११ घर भएका ३४ वर्षीय बस चालक पविन्दर राना मगरलाई नियन्त्रणमा लिएको छ।

बरामद सामानमा विभिन्न ब्रान्डका मोबाइल, ६ थान ल्यापटप, ५ थान ल्यापटप चार्जर, ५१३ थान टेम्पर ग्लास, १७ थान साडी, २१ थान जिन्स पाइन्ट, ३७ थान कुर्था सुरुवाल र १५ जोर जुत्ता रहेका छन्।

बरामद सामानको अनुमानित मूल्य ५३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद सामानलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *