हेटौँडा । बागमती प्रदेश सरकारमा सहकारी ठगीका आरोपीलाई मन्त्री बनाइएको छ । सहकारी ठगी आरोप खेपिरहेका ज्ञानबहादुर तामाङलाई एमालेले मन्त्री बनाएको हो । एमालेबाट समानुपातिक सांसद बनेका तामाङलाई विना विभागीय मन्त्री बनाइएको हो ।
उनी माथि सहकारीको दुई अर्ब रुपैयाँ बढी रकम हिनामिनाका आरोप छ । एमालेले बागमती प्रदेशको मन्त्रीमा नियुक्त भएका तामाङले बिहीबार नै शपथ ग्रहण समेत गरिसकेका छन् । उनलाई हाल मुख्यमन्त्री कार्यालयमा नै पदभार गराइएको छ ।
तामाङ नेसनल नमोबुद्ध सहकारीको दुई अर्ब रुपैयाँ हिनामिनामा मुछिएका व्यक्ति हुन् । उनको सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत २०८१ पुस २९ मा समस्याग्रस्त घोषणा गरेको थियो । तामाङ नमोबुद्ध सहकारीको सञ्चालक हुन् । ठगी आरोप लागेपछि तामाङ लामो अवधि सम्पर्कविहीन बनेका थिए ।
