सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले ६६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा लालबन्दी नगरपालिका–१४ डाइनीखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लालबन्दी–१४ का ६३ वर्षीय नरबहादुर थिङले घरमा २६ वटा बोरामा लुकाएर राखेको ५६० किलो गाँजा बरामद गरिएको छ । सोही स्थानकी ५२ वर्षीया जेसुन माया थिङले गोठमा चारवटा टिनका ड्रमभित्र लुकाएर राखेको करिब १०० किलो गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारततर्फ लैजाने उद्देश्यले गाँजा लुकाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।
