कोशी कटानको जोखिममा परेका परिवारलाई स्थानान्तरण

सुनसरी । सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।

श्रीलङ्का टापुुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गरिरहेको छ । कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा अस्थायी तटबन्ध निर्माण भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिए ।

‘बालुवा र सिमेन्टका बोरा भरेर नदी किनार जोगाउने प्रयास भइरहेको छ । ठुलो बाढी आयो भने यो प्रयासले मात्रै धान्न सक्दैन । यसले केही समयका लागि राहत दिन्छ, तर यो स्थायी समाधान होइन’,  उनले भने ।
कटान नियन्त्रणका लागि गत वर्ष निर्माण गरिएका करिब १८ स्परमध्ये नौ वटा पूर्णरूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी स्परलाईसमेत नदीले कटान गरिरहेको नगरप्रमुख कार्कीले बताए ।

‘अहिले श्रीलङ्का टापु, चिलिया टापुमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बराहक्षेत्र र बेलका नगरपालिकाको समन्वयमा श्रमदानमार्फत कटान रोक्ने प्रयास भइरहेको छ । बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने तथा बालुवा भरिएका बोरा राख्नेजस्ता उपाय अपनाइएको छ । यी अस्थायी उपाय मात्र हुन । दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण र नदी व्यवस्थापन नगरी समस्या समाधान हुँदैन’,नगरप्रमुख कार्कीले भने ।

सप्तकोशी नदीले धार परिवर्तन गरेर बनाएको चिलिया टापुमा अहिले पनि त्यहाँ ठूलो सङ्ख्यामा बसोबास छ । बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक वर्ष बर्खायाममा नदीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्ने गरेको छ ।

यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब ६, ७ सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेको नगरप्रमुख कार्कीले बताए । सप्तकोशीले विस्तारै धार पश्चिमतर्फ मोड्ने सङ्केत देखिएकाले बाक्लो मानव बस्ती रहेका क्षेत्रमा जोखिम झन् बढेको उनको भनाइ छ ।

हरेक वर्ष बर्खायाममा सप्तकोशीको बाढीले श्रीलङ्का टापुुको बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गरेर बगाउने गरेको छ । बर्सेनि नदीले जमिन तथा बस्ती कटान गर्दै जोखिम बढाए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन । विशेषगरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया टापु, गरैया तथा श्रीलङ्का टापुुका बासिन्दा बर्सेनि बाढी र कटानको दोहोरो जोखिममा पर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *