काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठकमा कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ र बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले क्रमशः ती प्रस्ताव पेस गर्नेछन् ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची छ ।
उता राष्ट्रियसभाको बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् । अर्थ मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफसमेत सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।
