एजेन्सी । अल नासरले साउदी किंग्स कपमा जित निकालेको छ । मंगलबार राति भएको अन्तिम ३२ को खेलमा अल दिरीयालाई ४-१ गोलले हराउँदै अल नासरले दोस्रो चरणमा स्थान बनाएको हो ।
अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन जोए फेलिक्सले दुई गोल गर्दा मोहमद सिमाकन र अब्दुल्लाह अल-हाम्दनले समान एक/एक गोल थपे । अल दिरीयाको लागि ओस्कार रोद्रिगेजले एक गोल गरे । खेलको दोस्रो मिनेटमा ओस्कारले गोल गर्दै अल दिरीयालाई शुरुवाती अग्रता दिलाएका थिए ।
११ औँ मिनेटमा सिमाकनले गोल गर्दै अल नासरलाई १-१ गोलको बराबरीमा ल्याए । ३६ औँ मिनेटमा फेलिक्सले गोल गर्दै अल नासरलाई २-१ गोलको अग्रता दिलाए । एक मिनेट बित्न नपाउँदै अल हाम्दनले गोल गर्दा अल नासर सहज जिततर्फ अगाडि बढेको थियो ।
यस्तै ६८ औँ मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ४-१ गोलको जित दिलाएका हुन् ।
