कांग्रेसको १५औँ महाधिवेशनका लागि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्म नै हुनेछ ।

नयाँ कार्यतालिकाअनुसार भदौ २४ गते देशभरका ६ हजार ७४३ वडामा वडा अधिवेशन हुनेछ । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।

त्यसपछि भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा सोही दिन जिल्ला अधिवेशनसमेत हुनेछ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा कार्यसमिति निर्वाचन गरिनेछ । असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन प्रतिनिधिलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ भने भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेछ । वडामा निर्वाचन प्रतिनिधि भदौ १५ गते खटाइने र भदौ १६ देखि २० गतेसम्म वडा तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ ।

यसैगरी, सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । कांग्रेस केन्द्रीय कार्यसमितिले संवाद र सहमतिको वातावरण निर्माण गर्न तथा भदौको सुरुवाती वर्षाका कारण वडा, गाउँ–नगर, उपमहानगर, महानगर र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अधिवेशनको विस्तृत क्यालेन्डर परिमार्जन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले विधानको धारा ३५(२)(च) बमोजिम परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *