एजेन्सी । आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई ३-० गोलले हराउँदै आर्सनलले १८ औँ कम्युनिटी शिल्डको उपाधि जितेको हो ।
प्रिन्सिपालिटी स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन रोकार्डो कालाफिओरी, काइ हाभेर्ट्ज र मार्टिन ओडेगार्डले समान एक/एक गोल गरे । खेलको ३० सेकेन्ड नबित्दै कालाफिओरीले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा हाभेर्ट्जले हेडर गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
४८ औँ मिनेटमा कप्तान ओडेगार्डले गोल गर्दा आर्सनल सहज जिततर्फ अगाडि बढेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल ३-० गोलले विजयी भएको हो ।
