अमेरिकालाई पराजय स्वीकार गर्न इरानको चेतावनी

रोयटर्स । इरानले अमेरिकालाई पराजय स्वीकार गर्न चेतावनी दिएको छ । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जालमार्फत स्ट्रेट अफ होर्मुज इरानको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकाले पराजय स्वीकार नगरेसम्म जलमार्गमा नाकाबन्दी जारी रहने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण पेट्रोलको मूल्य अझै बढ्न सक्ने भन्दै अमेरिकी नागरिकलाई त्यसका लागि तयार रहन आग्रह गरेका छन् ।

उनले स्ट्रेट अफ होर्मुज इरानको आदेशमा मात्र खुल्ने र बन्द हुने दाबी गरेका छन् । युद्धका कारण उक्त जलमार्ग हुँदै हुने तेल ट्यांकरको आवागमन रोकिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा कुनै निर्णय नभएको बताएका छन्।

उनले युद्धअघि विश्वको करिब पाँचौँ हिस्सा तेल ढुवानी हुने स्ट्रेट अफ होर्मुजबाट पुनः जहाज सञ्चालनका लागि अमेरिकाले इरानका सर्त पूरा गर्नुपर्ने बताएका छन् ।

यसैबीच, ट्रम्पले इरानलाई ‘अत्यन्त दुष्ट देश’ भन्दै उसलाई आणविक हतियार बनाउनबाट रोक्न पेट्रोलका लागि केही बढी मूल्य तिर्नु उचित भएको बताएका छन् ।

शुक्रबार न्युयोर्कको गार्डेन सिटीमा आयोजित राजनीतिक सभामा ट्रम्पले युद्धका कारण अमेरिकीले पेट्रोलमा केही बढी रकम तिर्नुपर्ने बताएका हुन्। उनले इरानलाई पराजित गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभाग घोषणा गर्ने दाबीसमेत गरेका छन्।

युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अमेरिकी अटोमोबाइल एसोसिएसनका अनुसार शुक्रबार एक ग्यालन पेट्रोलको औसत मूल्य ४.०८ अमेरिकी डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा २९ प्रतिशत बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *