कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर छैटौं प्रान्तमा पुगेको पुष्टि भएको छ। यसको साथै सङ्क्रमणका घटनाहरू बढेर चार हजार ७२७ पुगेको र दुई हजार २१४ जनाको मृत्यु भएको कङ्गोका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
स्वास्थ्य अधिकारीहरूले जारी गरेको रिपोर्टमा प्रकोपले बस–उले, हाट–उले, इटुरी, उत्तरी किवु, दक्षिण किवु र सोपो प्रान्तहरूमा ५५ स्वास्थ्य क्षेत्रहरूलाई असर गरेको उल्लेख गरिएको छ।
महामारी सुरु भएदेखि सङ्क्रमण पुष्टि भएका ९७६ जना निको भइसकेका जनाउँदै स्वास्थ्य अधिकारीहरूले लगातार सामुदायिक प्रसारणको क्रम जारी रहेको जनाएका छन्।
पछिल्लो सरकारी रिपोर्टले सम्पर्क अनुगमन दर ८२ दशमलव ६ प्रतिशत राखेको जनाएको छ। तथ्याङ्कले समुदायमा आधारित निगरानी र सम्पर्क पहिचानलाई बलियो बनाउन आवश्यक रहेको सङ्केत गरेको जनाइएको छ।
यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले समुदायमा मृत्युको उच्च अनुपात जारी रहेको चेतावनी दिँदै नयाँ घटनाहरू सम्पर्क सूचीमा नभएका मानिसमा पत्ता लगाइरहेका कारण केही प्रसारण माध्यामहरु अझै पहिचान हुन बाँकी रहेको जनाउनुभएको छ।
यस अघि सन् २०१४–२०१६ को पश्चिम अफ्रिकाको महामारीले अहिलेसम्मको सबैभन्दा ठूलो इबोला प्रकोप, २८ हजार ६०० भन्दा बढी मानिसहरूलाई सङ्क्रमित गरेको थियो।
डब्ल्यूएचओको आपतकालिन स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक चिकवे इहक्वियाजुले अहिलेसम्मको अनुसन्धानले प्रकोप औपचारिक रूपमा पत्ता लाग्नुअघि दुईदेखि तीन महिनासम्म भाइरस सर्ने गरेको हुन सक्ने बताएका छन्। यद्यपि प्रसारणको सही सुरुआत अनुसन्धानकै क्रममा रहेको छ।
स्वास्थ्य आपतकालीन चेतावनी र प्रतिक्रिया सञ्चालनका लागि डब्ल्यूएचओका निर्देशक अब्दिराहमान महामुदले प्रतिक्रिया योजनाको मध्यममा आधारित रहेको बताउँदै प्रकोप लगभग छ महिनासम्म जारी रहन सक्ने चेतावनी दिएका छन्।
यो प्रकोप नौ महिनादेखि १२ महिनासम्म रहन सक्ने सबैभन्दा खराब अवस्था रहेकोसमेत बताउँदै महामुदले महामारीको अवधि घटाउने प्रयास भइरहेको बताएका छन्।
अफ्रिका सीडीसीले यो प्रकोप नरोके एक वर्षभन्दा बढी समयसम्म टिक्न सक्ने र अन्ततः अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो इबोला महामारी बन्न सक्ने चेतावनी दिएका छन्।
यस मार्गलाई उल्टाउन निगरानी र गाउँहरूमा प्रतिक्रियाको लागि थप जिम्मेवारी स्थानान्तरण गर्ने, आवश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने, सन्दिग्ध मामिलाको रेफरललाई सुदृढ पार्ने, थप चिकित्सा उपकरणहरू तैनाथ गर्ने र प्रतिक्रिया स्रोतहरूको समन्वय सुधार गर्ने जस्ता उपायहरूको संयोजन आवश्यक पर्ने कासेले बताए।
