काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा कानुन तथा विधान समिति संयोजक रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे अवधारणा पत्र प्रस्तुत गरेका छन् । लेखकले पार्टीलाई समयअनुकूल, प्रविधिमैत्री, अनुशासित, समावेशी र लोकतान्त्रिक बनाउँदै आन्तरिक लोकतन्त्र तथा संगठनात्मक एकता सुदृढ गर्न विधान संशोधन आवश्यक रहेको बताएका छन्।
प्रस्तावमा सदस्यता प्रणालीलाई डिजिटल बनाउनेदेखि पार्टीका विभिन्न तहमा युवाको प्रतिनिधित्व बढाउने, उम्मेदवार छनोटलाई योग्यता, क्षमता र योगदानमा आधारित बनाउने तथा एउटै व्यक्तिले पटक–पटक अवसर पाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
अवधारणा पत्रमा सदस्यता डिजिटल प्रविधिमार्फत प्राप्त, नवीकरण र हटाउन सकिने व्यवस्था गर्न सुझाव दिइएको छ। पार्टीका सबै तहमा सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कामलाई कम्प्युटर प्रणालीमा आधारित बनाउने प्रस्तावसमेत गरिएको छ।
यस्तै, टोलदेखि केन्द्रसम्मका पार्टी संरचनामा १८ देखि ३५ वर्ष उमेर समूहका युवाको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव छ। महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, खसआर्य, अल्पसंख्यक, श्रमिक, पेसागत तथा विशेष क्षमता भएका व्यक्तिको प्रतिनिधित्व बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ।
लेखकले पार्टीका पेसागत विभागमा कम्तीमा ५० प्रतिशत सम्बन्धित क्षेत्रका विज्ञ तथा विशेषज्ञ मनोनीत गर्ने र बीपी कोइरालाको समाजवादसम्बन्धी विचारलाई स्पष्ट रूपमा जनस्तरमा पुर्याउन प्रजातान्त्रिक समाजवाद विभाग गठन गर्ने प्रस्ताव गरेका छन्।
यस्ते छ रमेश लेखकको ४३ बुँदे अवधारणा
आदरणीय सभापतिज्यु,प्रमुख अतिथिज्यू,राष्ट्रिय भेलामा उपस्थित नेतागण एवं साथीहरू
सर्वप्रथम म देशमा लोकतन्त्र स्थापना र पुर्नस्थापनाका निमित्त जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछु र लोकतान्त्रिक आन्दोलनको संघर्षपूर्ण यात्रामा योगदान गर्नुहुने सम्पूर्ण अग्रणी व्यक्तित्वमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। नेपाली कांग्रेसको पार्टी निर्माण र सुसञ्चालन गर्नुहुने सबै अग्रणी व्यक्तित्वहरूमा आदरभाव व्यक्त गर्दछु। नेपाली कांग्रेस पार्टी स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचारबाट निर्देशित हुँदै नेपालमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार र लोकतान्त्रिक प्रणालीको स्थापना तथा संरक्षणको नेतृत्व गर्दै आइरहेको छ। वि.सं. २००७ सालको युगान्तकारी परिवर्तन देखि २०३३ सालको राष्ट्रिय मेलमिलापको नीति, २०४६ सालको प्रजातन्त्र पुनर्वहाली र २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका सबै ऐतिहासिक मोडहरूमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। पार्टीको स्थापनाकालीन मूल मर्म, लोकतान्त्रिक निष्ठा र जनउत्तरदायी शासनप्रणालीप्रतिको प्रतिबद्धता नै नेपाली कांग्रेसको विधानको मुख्य वैचारिक आधार रहेको छ।
नेपालको संविधानले अङ्गीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक-समावेशी सिद्धान्त समेतलाई अंगीकार गरी नागरिक केन्द्रित शासन व्यवस्थालाई पार्टीको संगठनभित्र पूर्ण रूपमा आत्मसात गर्नु आजको मुख्य आवश्यकता रहेको छ। देशमा बदलिँदो सामाजिक-आर्थिक परिवेश, तीव्र रूपमा भइरहेको सूचना प्रविधिको विकास र नागरिक तथा युवाका बढ्दा अपेक्षा, सुशासन, भ्रष्टाचार मुक्त समाजको स्थापनाका लागि आमनागरिकलाई सम्बोधन गर्न पार्टीका संरचनाहरूलाई चुस्त, गतिशील र उत्तरदायी बनाउनु अनिवार्य भएको छ। संघीय ढाँचाअनुसार पार्टीका स्थानीय, प्रादेशिक र केन्द्रीय तहबिचको अधिकार बाँडफाँड र समन्वयलाई विधानतः स्पष्ट र व्यावहारिक बनाउन आवश्यक छ।
नेपाली कांग्रेसको प्रस्तावनाले अंगीकार गरेको न्यायपूर्ण, समतामूलक र भ्रातृत्वमा आधारित समाज निर्माणको लक्ष्य हासिल गर्न सर्वप्रथम पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ। समाजका सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र, समुदाय र युवा पुस्ताको न्यायोचित एवं अर्थपूर्ण प्रतिनिधित्वलाई पार्टीका हरेक तहमा सुनिश्चित गर्नु विधान संशोधनको प्राथमिक ध्येय हो। पारदर्शी निर्णय प्रक्रिया, योग्यता र योगदानमा आधारित मूल्यांकन प्रणाली तथा अनुशासित र विचारनिष्ठ कार्यकर्तापंक्ति निर्माण नै संस्थागत सुदृढीकरणको मेरुदण्ड हो। नेपाली कांग्रेस पार्टीले स्थापना कालदेखि नै गरेको विभिन्न राजनीतिक क्रान्ति, आन्दोलन, संघर्ष र अभियानको चरण पूरा भई मुलुक आर्थिक समृद्धि, सुशासन, विकास र प्रविधिकोे युगमा तीव्र रूपमा प्रवेश गरिसकेको छ। यस ऐतिहासिक मोडमा नेपाली कांग्रेसलाई समयसापेक्ष, प्रविधिमैत्री, अनुशासित, विचार-केन्द्रित र लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित लोकतान्त्रिक दलका रूपमा पुनःसंरचित र सुरक्षित गर्नुपर्ने दायित्व हाम्रासामु छ।
नेपाली कांग्रेस विश्वेश्वरप्रसाद कोइरालाको विचार, सुवर्ण शमशेरको उदारता र दूरदर्शिता, गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको निष्ठा, महेन्द्रनारायण निधिको अहिंसात्मक र समावेशी प्रजातान्त्रिक निष्ठा, गिरिजाप्रसाद कोइरालाको अदम्य साहस र मुलुकमा शान्ति स्थापनाको नायकत्व, सुशील कोइरालाको बहुलवादमा आधारित संविधान निर्माणको नेतृत्व र शेरबहादुर देउवाको लोकतन्त्र प्रतिको समर्पण,संविधानको कार्यान्वयन तथा समावेशी चरित्रको राज्य निर्माण गर्ने अठोटको जगमा उभिएका पार्टीका आदर्श व्यक्तित्वहरूको एकमात्र युगान्तकारी लोकतान्त्रिक पार्टी हो।
लोकतन्त्र स्थापना र पुर्नस्थापनाको संघर्षमय र कठिन यात्रामा अनेको सपुतहरूले साहदत गरेको र हजारौँ अथक योद्धाहरूको बलिदानीपूर्ण त्याग,तपस्या र समर्पणबाट निर्मित पार्टी हो- नेपाली कांग्रेस। नेपाली कांग्रेसका यिनै आदर्श व्यक्तित्वहरूको मार्गदर्शन तथा अभिभाराको बोध गरी राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अक्षुण्ण राख्दै संगठनात्मक संरचनालाई आधुनिक युगको माग र जनचाहनाअनुरूप रूपान्तरण गर्न मौजुदा विधानमा रहेका व्यवस्थाहरू संसोधन, परिमार्जन र थपघट गरी समयसापेक्ष बनाउन वाञ्छनीय छ। पार्टीको एकता आजको आवश्यकता भएकोले फरक विचार, नेपाली समाज र पार्टी भित्रको मतान्तरलाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध, सुसंगठित र थप सुदृढ पार्ने प्रमुख उद्देश्य हुनुपर्दछ। विधानको प्रस्तावना, आर्दश, सिद्धान्त र उद्देश्यअनुरूप मौजुदा विधानमा देहाय बमोजिमका व्यवस्थाहरू समायोजन गरी संशोधन, थपघट गर्न आवश्यक देखिएकोले नेपाली कांग्रेसको कानुन तथा विधान समितिले देहायका राय सुझावहरूलाई एकीकृत गरी यो विधान संशोधन अवधारणा पत्र तयार गरी प्रस्तुत गरिएको छ।
१ .प्रस्तावनालाई सशोधन गरी समसामयिक विषय समेत समायोजन हुने गरी परीमार्जन गर्ने।
२. आदर्श र उद्देश्यको अघि मूल्य र मान्यता थप गर्ने।
३. नेपाली कांग्रेसको साधारण सदस्यता र क्रियाशील सदस्यसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने।
४. सदस्यको योग्यताको हकमा आवश्यक परिमार्जन गर्ने,
५. नेपाली कांग्रेसको सदस्यता लिन चाहने योग्यता पुगेका व्यक्तिले स्वघोषणमार्फत पार्टीको मूल्य-मान्यता, आर्दश र सिद्धान्तमा प्रतिबद्धता जनाएपछि जुनसुकै समयमा सदस्यता प्राप्त गर्न सक्ने विधानमा नै व्यवस्था गर्ने,
६. पार्टीको सदस्यता डिजीटल प्रविधिमार्फत स्वचालित रूपमा प्राप्त गर्न, नवीकरण गर्न र हटाउन सकिने व्यवस्था गर्ने र सदस्यतालाई वडा तहमा सूचीकृत र केन्द्रमा अभिलेखीकरण गरिने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने, तथा समयसापेक्ष बनाउन, सरलीकरण गर्नका लागि सम्बन्धित दफाहरूलाई परिमार्जित गर्ने।
७. विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूको सम्बन्धित देशको जनसम्पर्क समितिमा सदस्यता सूचीकृत गर्ने तथा सदस्यता नवीकरणलगायतका कार्यहरू पार्टीको केन्द्रीय कार्यालयमा अभिलेख गर्ने व्यवस्था गर्ने।
८. सदस्यहरूको सदस्यता,योग्यता, नवीकरण शुल्क, स्थानान्तरणलगायतका अन्य व्यवस्थामा परिमार्जन गर्ने।
९. टोल कार्यसमितिमा भूगोल र जनसंख्याको आधारमा कार्यसमितिमा पदाधिकारी तथा सदस्य संख्या निर्धारण गरिने छ। जसमा एकजना उपसभापति र कोषाध्यक्षको व्यवस्था गरी कार्यसमितिमा समावेशी सिद्धान्तका आधारमा महिला, दलित, जनजाति, विशेष क्षमता भएका व्यक्तिलगायत सबै समुदायको प्रतिनिधित्व हुनेगरी व्यवस्था मिलाइनेछ।
१०. टोल, वडा समितिमा रहने न्यूनतम क्रियाशील सदस्य कति हुने हो भन्ने सम्बन्धमा स्पस्ट नीतिगत व्यवस्था मिलाउने।
११. वडा,गाउँपालिका, क्षेत्र, क्षेत्रीय प्रतिनिधिहरूको निर्वाचन १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा भूगोल र जनसंख्याका आधारमा महिला, श्रमिक, पेसागत क्षेत्र आदिबाट प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइनेछ।
१२. विभिन्न क्षेत्रमा रहेका विभिन्न समुदायका ३० वर्षमुनिका युवाहरूलाई पार्टी संगठनका सबै तहमा प्रत्यक्ष निर्वाचित र मनोनीत गर्ने व्यवस्था गर्ने।
१३. महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, पेसागत, बुद्धिजीवी विशेष क्षमता भएका व्यक्तिहरूबाट समावेश हुने गरी सबै तहमा प्रत्यक्ष निर्वाचित हुने संख्या गरी व्यवस्था गर्ने।
१४. नगर/उप महानगर र महानगरपालिका वडा क्षेत्र बाट क्षेत्रीय प्रतिनिधिको चयन भूगोल र जनसंख्याको आधारमा गर्ने गरी आवश्यक व्यवस्था गर्ने।
१५. सबै तहमा सदस्यता वितरण तथा नवीकरणलगायतका सम्पूर्ण कार्यलाई कम्प्युटर प्रणालीमा आधारित प्रविधिमा रूपान्तरण गर्ने व्यवस्था गर्ने।
१६. सबै तहका कार्यसमितिलाई संख्यात्मक दृष्टिले चुस्त र छरितो बनाउँदै सोही संख्या भित्र समावेशिताको प्रतिशत वृद्धि गर्ने नीति अपनाउने र युवाको सहभागितालाई टोल, वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रलगायत सबै तहमा साविकमा भएको व्यवस्थामा वृद्धि गर्ने।
१७..गाउँपालिका सम्मेलनमा वडा कार्यसमितिका सदस्यहरू समेतलाई सहभागी गराइने व्यवस्था गर्ने।
१८.नेपाली जनसम्पर्क समितिहरूको विधान, कार्यसमिति, कार्यकाल, अध्यक्ष, नेपाली कांग्रेसको महाधिवेशनमा हुने प्रतिनिधित्वको संख्या, योग्यता, सहभागिता, समावेशिता र पर्यवेक्षक सम्बन्धमा पार्टी तथा समितिहरूमा हुने प्रतिनिधित्वका लागि समयानुकूल संशोधन गर्ने।
१९. विशेष केन्द्रीय महाअधिवेशन सम्बन्धमा हस्ताक्षर रुजु गर्ने, प्रमाणित गर्ने, महाधिवेशन आयोजना गर्ने विषयमा कार्यविधि समेतको स्पष्ट व्यवस्था गर्ने।
२०. केन्द्रीय महाधिवेशनको समयवधि समाप्त हुन भन्दा कम्तीमा ६ महिनाभन्दा कम अवधि बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुनुभन्दा कम्तीमा ६ महिना वा सोभन्दा कम अवधि बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गरिने छैन भन्ने व्यवस्था गर्ने।
२१. विभिन्न तहका कार्यसमितिमा आवश्यकताअनुसार पदाधिकारीको संख्या वृद्धि गर्न सकिने व्यवस्था गर्ने र त्यसरी वृद्धि भएको संख्यामा महिला ,युवा तथा तत् स्थानको जनसंख्याको आधारमा विभिन्न समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने।
२२. केन्द्रीय कार्यसमितिमा उपसभापतिहरूको संख्या वृद्धि गर्ने र महिलाको सहभागिता सुनिश्चत गर्ने तथा सभापतिको सिफारिसमा केन्द्रीय कार्यसमितिले एकजना वरिष्ठ उपसभापति नियुक्त गर्ने व्यवस्था गर्ने।
२३. पार्टीका सबै तहमा लोकतान्त्रिक पद्धतिबाट उम्मेदवारहरूको योग्यता र मापदण्ड बनाई उम्मेदवारको योग्यता निर्धारण गर्ने।
२४.नेपाली कांग्रेसका विभागहरूलाई थप मजबुत र प्रभावकारी, जिम्मेवार बनाउनका लागि पेसागत विभागहरूमा कम्तीमा ५० प्रतिशत सम्बन्धित विषयका विज्ञ/विशेषज्ञहरूलाई मनोनीत गर्ने व्यवस्था गर्ने।
२५.नेपाली कांग्रेसमा बीपीको समाजवादसम्बन्धी विचारलाई प्रस्टसँग व्याख्या गर्न प्रजातान्त्रिक समाजवादलाई जनता-जनतामाझ पुर्याउनको लागि एउटा प्रजातान्त्रिक समाजवाद विभाग गठन गर्ने र त्यसमा विभिन्न क्षेत्रका विज्ञहरूलाई सल्लाहकारको रूपमा नियुक्त गर्ने व्यवस्था गर्ने।
२६. केन्द्रीय समितिमा पार्टी सभापतिले मनोनित गर्ने कोटाबाट आवश्यकता र औचित्यताका आधारमा समाजशास्त्री, चिकित्साशास्त्री, राजनीतिशास्त्री, अर्थशास्त्री , कानुन शास्त्रीलगायत विभिन्न क्षेत्रका विशेषज्ञलाई मनोनित संख्याको मम्तीमा २५% सिट सुनिश्चितताको व्यवस्था गर्ने।
२७.नेपाली कांग्रेसको आन्तरिक जीवनलाई थप बलियो पारदर्शी र जवाफदेही बनाउनका लागि डिजिटल एप्लिकेसन सञ्चालन गर्ने व्यवस्था गर्ने। जसमा वरिष्ठता, योग्यता र जिम्मेवारी वहन गर्न सक्ने क्षमतालाई आधार मानी विभिन्न तहका निर्वाचनहरूमा सोहीबमोजिम मूल्यांकन गर्ने विधिको विकास गर्ने।
२८.राज्यका सबै तहका निर्वाचन र मनोनयन हुने पदहरूमा उम्मेदवारहरू छनोट, सिफारिस गर्दा क्रियाशीलता, योगदान, क्षमता, योग्यता, ख्याति तथा विज्ञताका आधारमा मापदण्ड तयार गरी निश्चित उम्मेदवार छनोट गर्ने प्रणाली र विधिको सुनिश्चितता गर्ने।
२९.समावेशी कोटामा गरिने मनोनयनमा एक व्यक्तिले एकपटक मात्र अवसर पाउने नीति अवलम्बन गर्ने।
३०.उम्मेदवारका लागि तहअनुरूपको न्यूनतम शैक्षिक योग्यतासहित विज्ञता र दक्षतालाई प्राथमिकता दिइने व्यवस्था मिलाउने।
३१.सामान्यतया विभिन्न तहमा एकपटक निर्वाचित हुने उम्मेदवार सोही तहमा पटकपटक दोहोरिन नमिल्ने व्यवस्थाका लागि समयावधि तोकी कुलिङ समयावधिको व्यवस्था गर्ने।
३२. कुनै एक तहमा उम्मेदवार भएको व्यक्ति सोही वर्ष वा समयमा पुन: निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था मिलाउने।
३३. सामान्यतया एक व्यक्ति एकपटकमा एकपदमा मात्र जिम्मेवारीमा रहनसक्ने गरी आवश्यक व्यवस्था गर्ने।
३४.समानुपातिक प्रणालीमा उम्मेदवार बनाउँदा वा पार्टीको तर्फबाट मनोनीत गर्दा निरन्तर अवसर प्रदान गर्ने अवस्थालाई निरुत्साहित गर्ने।
३५.सबै तहका उमेदवार छनोट समिति तथा संसदीय समितिको गठनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउन आवश्यक परिमार्जन गर्ने।
३६.पार्टीका सबै तहका उम्मेदवार छनोट समितिमा पूर्वसभापतिबाट निश्चित संख्यामा र सभापतिका निकटतम प्रतिस्पर्धीलाई समावेश गर्ने व्यवस्था गर्ने।
३७.उम्मेदवारको सिफारिस, निर्णय र अनुमोदन सम्बन्धित तहबाटै तोकिएको संख्यामा मात्र अनिवार्य रूपमा निर्धारण गर्ने व्यवस्था गर्ने।
३८. पार्टीका सबै तहमा रहेका अनुशासन समितिमा आवश्यक संख्यासमेत संशोधन गर्ने।
३९. केन्द्र, केन्द्रीय कार्यालय र केन्द्रीय कार्यसमितिको परिभाषा स्पष्ट गर्ने।
४०. पार्टीको केन्द्रीय निर्वाचन प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने
४१.पार्टीको सबै तहका निर्वाचित सभापति र पदाधिकारीहरूको अविश्वास प्रस्ताव सम्बन्धमा समयसापेक्ष परिमार्जन गर्ने।
४२. टोल कार्यसमितिदेखि जिल्ला कार्यसमितिसम्मका तहका पार्टीका कार्यसमितिमा १८ देखि ३५ (पैँतीस) वर्षसम्मको उमेर समूहको कम्तीमा २० (बीस) प्रतिशत प्रतिनिधित्व हुने सुनिश्चितता गर्ने। सो संख्या निर्वाचनबाट अपुग भएमा सम्बन्धित तहको सभापतिले यस विधानबमोजिम कार्यसमितिमा मनोनीत गर्दा उक्त उमेर समूहको सदस्य संख्या थप गर्ने व्यवस्था गर्ने।
४३.नेपालको लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरूमा विशेष योगदान पुर्याएका नेपाली कांग्रेसका अग्रज नेतृत्व, क्रियाशील सदस्यहरूलाई सम्मानस्वरूप केन्द्रीय कार्यसमितिले निर्णय गरी निश्चित संख्यामा मानार्थ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा मनोनयन गर्ने।
प्रस्तुतकर्ता: रमेश लेखक, वरिष्ठ अधिवक्ता
संयोजक कानुन तथा विधान समिति
