दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै रुससँगको सैन्य सम्बन्ध विस्तार गरिरहेका बेला राष्ट्रपतिको यस्तो प्रस्ताव आएको हो ।

दुई कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सम्झौतामार्फत नभई युद्धविरामबाट अन्त्य भएको थियो ।

जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका हुन् ।

“आउनुहोस्, एक–अर्कालाई धम्की दिने मनसाय त्यागौँ र युद्धमा प्रत्यक्ष सङ्लग्न पक्षका रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ,” लीले भने ।

उनले वार्ताका माध्यमबाट उत्तर कोरियाको आणविक क्षमता विस्तार रोक्ने प्रभावकारी उपायबारे समेत छलफल गर्न सकिने बताए ।

राष्ट्रपति लीको प्रस्ताव उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको वार्षिक संयुक्त सैन्य अभ्यासको विरोध गरिरहेका बेला आएको हो । प्योङयाङले अभ्यासलाई आक्रमणको तयारी भन्दै त्यसविरुद्ध थप सशक्त प्रतिरोधात्मक कदम चाल्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले जापानको बढ्दो सैन्य गतिविधिप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ । टोकियोले क्षेत्रीय सुरक्षाका लागि आफ्नो रक्षा क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएपछि प्योङयाङले पछिल्ला दुई सातामा दुईपटक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

सन् २०१९ मा हनोईमा उत्तर कोरियाली नेता किम जोङ–उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता विफल भएपछि प्योङयाङले आफूलाई पटक–पटक ‘अपरिवर्तनीय’आणविक राष्ट्र घोषणा गर्दै आएको छ । उक्त वार्ता आणविक निशस्त्रीकरणको दायरा र उत्तर कोरियामाथिका प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसकेपछि विफल भएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति लीले जुन २०२५ मा पदभार सम्हालेपछि पूर्ववर्ती सरकारको कडा नीतिबाट अलग हुँदै आणविक हतियार सम्पन्न उत्तर कोरियासँग बिनासर्त वार्ताको प्रस्ताव गर्दै आएका छन् ।

गत जुलाईमा दक्षिण कोरियाका एकीकरणमन्त्रीले उत्तर कोरियाका आणविक हतियार नष्ट गर्न दबाब दिने अभियानबाट पछि हट्दै प्योङयाङको आणविक कार्यक्रम विस्तार रोक्नमा केन्द्रित हुने बताएका थिए । तर, उत्तर कोरियाले राष्ट्रपति लीका पछिल्ला वार्ता प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन । बरु उसले रुससँगको सैन्य सम्बन्ध थप सुदृढ बनाउँदै आएको छ ।

विश्लेषकहरूका अनुसार युक्रेनमा रुसको युद्धमा सेना र गोलाबारुद उपलब्ध गराएबापत उत्तर कोरियाले मस्कोबाट आर्थिक सहयोग, खाद्यान्न, ऊर्जा तथा सैन्य प्रविधि प्राप्त गरिरहेको छ । उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यतिर रुस भ्रमण गर्ने सम्भावना रहेको र त्यस क्रममा थप हतियार आपूर्तिबारे छलफल हुन सक्ने उनीहरूको आँकलन छ ।

दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी अमेरिकाले उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ ।

अमेरिका–दक्षिण कोरिया संयुक्त सेना कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले उत्तर कोरियाले युक्रेन युद्धबाट प्राप्त गरेको अनुभवले कोरियाली प्रायद्वीपमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती परिवर्तन गरेको बताएका छन् ।

“उनीहरूले त्यहाँ सिकेका पाठहरू उत्तर कोरिया फर्काएर ल्याएका छन्,” सोमबारदेखि सुरु हुने ११ दिने संयुक्त सैन्य अभ्यासबारे पत्रकारसँग कुरा गर्दै डोनाल्डले भने । “हाम्रो तालिमले त्यही खतरालाई ध्यानमा राखेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *