कांग्रेसलाई कमजोर बनाउने काम भइरहेको छ : शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र विधि र विधान मिचेर अघि बढ्ने प्रयासले कांग्रेसलाई कमजोर बनाएको बताएका छन् ।

पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएपछि शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । उनले विशेष महाधिवेशनका नाममा पार्टीको स्थापित विधि र विधान उल्लङ्घन गरिएको दाबी गरे ।

‘विशेष महाधिवेशनका नाममा विधि–विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ देउवाले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’

देउवाले नेपाली कांग्रेसले मुलुकको राजनीतिक परिवर्तनमा निर्वाह गरेको भूमिकालाई नजरअन्दाज गर्न नहुने बताए । कांग्रेसले विगतमा केही गरेन भन्ने धारणा गलत रहेको उल्लेख गर्दै उनले २००७ सालदेखि २०६२/०६३ सम्मका प्रमुख राजनीतिक परिवर्तनमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको स्मरण गरे ।

‘नेपाली कांग्रेसले के गर्‍यो भन्ने बुझ्न २००७ सालअघिको अवस्था हेर्नुपर्छ,’ उनले भने । इतिहासबाट पाठ सिकेर मात्रै आगामी राजनीतिक बाटो तय गर्न सकिने भन्दै देउवाले कांग्रेसका विगतका उपलब्धिलाई अवमूल्यन नगर्न आग्रह गरे ।

मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको देउवाको भनाइ थियो । जनतामा बढेको निराशालाई आशामा बदल्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए ।

पार्टीभित्रको विवाद अन्त्य गर्दै बृहत्तर एकता कायम गर्नुपर्नेमा जोड दिँदै देउवाले सबै नेता तथा कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने बताए ।

‘सबै साथीहरूलाई न्याय हुने र सबैको भावनाको कदर हुने गरी एकता खोज्न आवश्यक छ,’ उनले भने, ‘जनताको अधिकार र भूमिकाका लागि म जुनसुकै त्याग गर्न तयार छु।’

यसैबीच, लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किँदा विमानस्थलमा स्वागत गर्न पुगेका नेता तथा कार्यकर्ताप्रति देउवाले आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *