कांग्रेस एकजुट नभए मुलुकको भविष्य थप संकटमा पर्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकसँगै कांग्रेससमेत गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । पार्टीभित्रको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

शुक्रबार काठमाडौँमा कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोइरालाले राष्ट्रियता, लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती बढिरहेको दाबी गरे । यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिहरूबीच एकता आवश्यक रहेको उनको भनाइ थियो ।

‘देशको अवस्था संकटग्रस्त छ । देशको अस्तित्व र राष्ट्रियता दुवै खतरामा छन्,’ कोइरालाले भने, ‘यस्तो अवस्था किन र कसरी आयो भन्ने विषयलाई हामीले गम्भीरतापूर्वक बुझ्न जरुरी छ ।’

उनले प्रेस स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको उल्लेख गर्दै त्यसविरुद्ध आवाज उठाउने प्रमुख शक्ति कांग्रेस भएको बताए । तर कांग्रेस आफैँ विभाजित मानसिकताबाट गुज्रिरहेको स्वीकार गर्दै उनले पार्टी एकताका लागि गरिएका प्रयास तत्काल सफल हुन नसकेको बताए ।

विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवादबारे बोल्दै कोइरालाले सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकाले न्याय पाउने विश्वास व्यक्त गरे । अदालतको फैसला आएपछि कांग्रेसलाई पुनः एकढिक्का बनाएर अघि बढाउने उनको भनाइ थियो ।

कोइरालाले कांग्रेसभित्रको एकता मुलुकको राजनीतिक स्थायित्वका लागि समेत आवश्यक रहेको बताए । कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहकार्य गर्न सके मात्रै पार्टी र देश दुवैको भविष्य उज्ज्वल हुने उनले उल्लेख गरे ।

उनले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र प्रभावमुक्त हुनुपर्ने आफ्नो समूहको स्पष्ट धारणा रहेको पनि दोहोर्‍याए । साथै, कांग्रेसले कुनै पनि प्रकारको निरंकुशता स्वीकार नगर्ने उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *