सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेशसभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।
गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि आज पूरा भएको छ । प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले पाएको जिम्मेवारीअनुसार काम गरेको बताए।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र नेकपा एमालेबीच सहमति भइसकेको छ । सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।
