काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले मुद्दा लगाउँदा त नसकेको भन्दै अरूले पनि नसक्ने बताएका छन् । बिहीबार स्वदेश फर्केपछि कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा देउवाले यस्तो बताएका हुन् ।
उनले भने, ‘हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो । सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो । नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’
देउवाले अदालतप्रति आफ्नो पूर्ण विश्वास रहेको बताए । देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको बताए । उनले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए ।
उनले मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए । गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको उल्लेख गर्दै देउवाले भने, ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठुलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यहीँ हुन्छ।’
